विराटनगर। मोरङका माछापालक किसानले बाढीले पु¥याएको क्षतिबापतको राहत नपाएको भन्दै गुनासो गरेका छन् । गत साउन २८ गते वर्षात्पछि आएको बाढीका कारण पुगेको क्षतिबापतको राहत नपाएको भन्दै उनीहरूले गुनासो गरेका हुन् ।
मोरङमा बाढीका कारण सात सय किसानको पाँच करोड बराबरको क्षति पुगेको दाबी माछापालक किसान सङ्घका अध्यक्ष बलराम प्रसाईको छ । उहाँका अनुसार कृषि मन्त्रालयले भुरा, चुन र पोखरी टेवा पर्खाल निर्माणमा राहत दिने बताए पनि हालसम्म राहत आएको छैन ।
ठूलो क्षति पुगेपनि हालसम्म पनि राहत नपाउँदा किसानले मार खेप्नुपरेको भन्दै किसानले तत्काल राहतको माग गरेका हुन् ।
माछा उत्पादनसँगै भारतबाट आयात हुने माछा प्रतिस्थापन हुन थाले पनि बाढीले पु¥याएको क्षतिमा सरकारले अनुदान वा राहत दिनुपर्ने अर्का माछा व्यवसायी देवराज चौधरीको भनाइ छ ।
जिल्ला कृषि कार्यालय, मोरङका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार बाढीका कारण ७०७ किसानको ३९६ हेक्टरमा पालेको माछामा क्षति पुगेको थियो । जसमध्ये ४५ किसानको ८१।७ हेक्टर क्षेत्रफल पोखरीका माछा बगाएको, पोखरीको टेवा पर्खाल भत्किएका १२६ किसान र अन्य विभिन्न समस्या भएका ५३७ किसानको क्षति पुगेको तथ्याङ्क रहेको छ ।
निमित्त प्रमुख चौधरीले जिल्ला कृषि कार्यालयको संरचना रहने वा नरहने भन्ने यकिन हुन नसक्दा अहिले राहत बारे अन्यौल रहे पनि आगामी आर्थिक वर्षमा मन्त्रालयमार्फत राहत आउन सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले कृषि मन्त्रालयले २०७३ भदौ ११ गते परिपत्र जारी गरेर क्षति पुगेका किसानको विवरण सङ्कलन गर्न भने पनि राहत भने हालसम्म नआएका कारण दिन नसकिएको बताउनुभयो ।