काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा चैत यता तरकारीहरुको भाउ बढेको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिको तथ्याङक अनुसार गोलभेडा, आलु, काउली, मुला, च्याउ, गान्टे मुला, काक्रो, लसुन, हरियो धनीया, ब्रोकाउली लगायतको भाउ बढेको हो ।

नेपालमा तरकारीको उत्पादन कम भएकाले आयात गरेर बिक्री गर्नुपर्ने अवस्थाका कारण मूल्य बढ्न गएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका उप–निर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

‘गोलभेडा, आलु र कागती लगायतका अधिकांश तरकारी भारतबाट आयात हुन्छ, उताको मूल्य अनुसारै यहाँको मूल्य तोकिने हो, न्युन मात्रामा लोकल तरकारी भित्रिए पनि कम उत्पादन हुँदा महंगो हुन गएको हो,’ श्रेष्ठले कृषि पत्रिकासंग भने ।

चैत्र १ गते गोलभेडा प्रतिकेजी २८ रुपैयाँदेखि ३८ रुपैयाँमा कालिमाटीको थोक बजारमा विक्री भइरहेको थियो । अहिले गोलभेडा ३३ रुपैयाँदेखि ४३ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ । गोलभेडाको मूल्य १५ रुपैयाँसम्म बढेको छ ।

आलुको मूल्य २१ रुपैयाँ प्रतिकेजीबाट २८ रुपैयाँमा पुगेको छ । आलुमा ७ रुपैयाँ बढेको छ ।

स्थानीय काउलीको मूल्य १० रुपैयाँले बढेको छ । प्रतिकेजी ३८ रुपैयाँमा विक्री भइरहेको काउली पछिल्लो समय ४८ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । स्थानीय काउलीको माग अनुसारको आपूत्र्ति नभएका करण मूल्य बढ्न गएको श्रेष्ठ बताउँछन् ।

मुलाको भाउ २५ रुपैयाँ बढेको छ । २८ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको मुला अहिले ५३ रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ ।

१ सय ४५ रुपैयाँ प्रतिकेजी थोक बजारबाट विक्री भइरहेको च्याउ प्रतिकेजी १ सय ७५ रुपैयाँमा पुगेको छ ।

गान्टे मूला ४३ रुपैयाँ प्रतिकेजीबाट ७३ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ ।५ सय २५ रुपैयाँमा एक सय दाना कागती विक्री हुने गरेको ९ सय ७५ रुपैयाँ पुगेको छ ।

यस्तै हरियो लसुन ५५ रुपैयाँ प्रतिकेजीमा विक्री हुने गरेको । पछिल्लो दिन लसुनमा २० रुपैयाँ बढेको छ । हरियो धनिया ५५ रुपैयाँ प्रतिकेजीबाट बढेर ९५ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । धनिया ४० रुपैयाँले बढेको हो ।