विराटगनर। दुग्ध विकास संस्थानले चालू आर्थिक वर्षको आठ महिनामा विदेशी बजारबाट १५ करोड रुपियाँ बराबरको धूलो दूध खरिद गरेको छ । दूधमा आत्मनिर्भर बन्न नसकेकै कारण संस्थानले पाउडर दूध आयात गरेर यहाँका उपभोक्ताको माग पूरा गर्नुपरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुँदासम्म १५ करोडको पाउडर दूध आयात गरिसकेको डीडीसीले थप १२ करोड मूल्य बराबरको पाउडर आयातका लागि टेण्डर आह्वान गरिसकेको छ । आर्थिक वर्षको अन्तिमसम्ममा करिब २७ करोडको पाउडर दूध र करिब १३ करोेड रुपियाँ बराबरको मख्खन आयात हुने अनुमान डीडीसीले गरेको छ ।

संस्थानको सञ्चालक समिति अध्यक्ष रघुनाथ गौतमले भन्नुभयो, हामी दूधमा आत्मनिर्भर बन्ने अभियानमा छौँ तर अहिले नै त्यो सम्भव भइसकेको छैन । यस वर्ष हामीले करिब २७ करोडको पाउडर दूध आयात गर्नेछौँ तर अर्को वर्षबाट भने आयात रोक्ने गरी काम गरिरहेका छौँ ।

दूधबाट पाउडर उत्पादन गर्ने प्लान्ट विराटनगरमा छ । चालू आर्थिक वर्षको पाँच महिनामा दुग्ध वितरण आयोजना विराटनगरको पाउडर प्लान्टबाट चार सय मेट्रिक टन धूलो दूध उत्पादन भइसकेको छ । कात्तिकदेखि नियमित रूपमा पाउडर उत्पादन भइरहेको छ । दूध उत्पादनको सिजन मङ्सिरदेखि चैतसम्म दैनिक पाउडर उत्पादन भइरहेको विराटनगर आयोजनाका टेक्निकल अफिसर दामोदर ढकालले जानकारी दिनुभयो ।

दूध उत्पादनमा आत्मनिर्भर बन्ने हो भने बढी उत्पादन हुने सिजनमा दूध सङ्कलन गरेर पाउडर बनाउने र अफ सिजनमा त्यही पाउडर प्रयोगमा ल्याउने गर्नुपर्छ । अध्यक्ष गौतमले भन्नुभयो, अर्को वर्षदेखि हामी दूध बढी सङ्कलन गर्छौं र बजारमा खपत नहुने दूध पाउडर बनाएर राख्छौँ । त्यसो गर्दा अहिले हामीले विदेशबाट आयात गरिरहेको पाउडर दूध विस्थापन गर्नसक्छौँ । उहाँले दूध सङ्कलनका लागि संस्थानसँग पुँजी अभाव रहेकाले सरकारले नयाँ सङ्कलन केन्द्र स्थापना गर्न, आधुनिक मेसिन तथा उपकरण खरिद गर्न र ढुवानीका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

भारतबाट आयात भइरहेको पाउडर दूधलाई विस्थापित गर्न डीडीसीले एक किलोग्राम दरको पाउचमा धूलो दूध नै बजारमा पठाउने तयारी पनि गरेको छ । विराटनगर आयोजनाका टेक्निकल अफिसर ढकालले भन्नुभयो, हामीले पाउचको डिजाइन गर्ने काम अघि बढाइसकेका छौँ त्यो तयार भएर आएपछि बजारमा डीडीसीको धूलो दूध वितरण अघि बढ्छ ।

यतिबेला दुग्ध विकास संस्थान ५५ करोड सञ्चित नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षसम्म ३४ करोड सञ्चित नोक्सानी रहेको संस्थानमा गत वर्ष मात्र २१ करोड नोक्सानी भएको थियो । त्यो समेत गरेर अहिले सञ्चित घाटा ५५ करोड पुगेको हो ।
यो वर्ष नाफा घाटा बराबर बनाउने गरी काम भइरहेको संस्थान सञ्चालक समिति अध्यक्ष रघुनाथ गौतमले बताउनुभयो ।

यो वर्ष बालाजु आयोजना राम्रो मुनाफामा छ भने लुम्बिनी र धनगढी आयोजना नाफाघाटा समविन्दु (बीईपी) मा पुगेका छन् अब अन्तिमसम्म ती आयोजना पनि नाफामा पुग्छन् । सातमध्ये चार आयोजना घाटामा छन् तिनलाई नाफा घाटा बराबरीको अवस्थामा पु¥याउन कसरत गरिरहेका छौँ । यसो हुँदा यो वर्ष हामी सञ्चित नोक्सानी बढ्न दिँदैनौँ । अहिले पनि दुग्ध विकास संस्थानले सहरी क्षेत्रको ६० प्रतिशत दूध तथा दहीको माग आपूर्ति गर्दै आएको छ । निजी क्षेत्रका उद्योगहरूले ४० प्रतिशत बजारमा सेवा पु¥याएका छन् ।