
दाङ। दाङको तुलसीपुर–६ गोलौराका ठगेन्द्र डाँगीको परदेशको पीडा भुलाउने माध्यम भैँसीपालन व्यवसाय बनेको छ । दुई दशकसम्म भारतका विभिन्न सहरमा मजदुरी गरेर फर्कनुभएका डाँगीको परदेशको पीडा भुलाउने मात्र नभई परिवार धान्ने माध्यम बनेको छ, भैँसीपालन व्यवसाय ।
दुईवटा भैँसीबाट व्यवसाय सुरु गर्नुभएका डाँगीको फर्ममा अहिले १० वटा भैँसी छन् । सबै भैँसीले दूध दिने गरेको भन्दै व्यवसायी डाँगीले भैँसीपालन व्यवसायबाटै पारिवारिक गर्जो टरेको बताउनुभयो ।
लामो समय घरबाहिर बस्दा पनि पैसा कमाउन नसकेको भन्दै डाँगीले भैँसीपालन व्यवसायले पैसा र पारिवारिक साथ दुवै दिएको बताउनुभयो । करिब २० वर्ष भारतका चण्डीगढ, मुहाली, गुवालगायतका सहरमा काम गरियो । आफू पालिनेभन्दा अरू हुन सकेन । अनि घर फर्केर गत वर्षदेखि भैँसीपालन व्यवसाय सुरु गरेको छु, व्यवसायी डाँगीले भन्नुभयो, व्यवसायबाट राम्रै आम्दानी भएको छ । म सन्तुष्ट छु । जीवनमा भोगेको दुःख भैँसीले भुलाउँदै लगेका छन् ।
फर्ममा रहेका दसवटै भैँसी दुहुना भएको भन्दै व्यवसायी डाँगीले दैनिक ६० लिटर दूध बेच्ने गरेको बताउनुभयो । बजार नजिक रहेकाले दूध बेच्न त्यति समस्या नरहेको र खर्च कटाएर मासिक ५० हजार रुपियाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
फर्ममा दसवटा भैँसी दुहुना छन् । साँझ बिहान गरेर ६० लिटर दूध बिक्री हुने गर्छ । दाना, पानी, घाँस, पराल किन्नुपर्छ । सबै खर्च कटाएर मासिक ५० हजार जति आम्दानी हुन्छ, व्यवसायी डाँगीले भन्नुभयो, भैँसीपालन व्यवसायबाट छ जनाको परिवार पालिरहेको छु ।
आफूले पढ्न नसके पनि सन्तानहरूलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोचाइका साथ चार छोरीलाई निजी विद्यालयमा पढाइरहेको व्यवसायी डाँगीले बताउनुभयो । आफूले पढ्न सकिएन, त्यसैले साह्रै दुःख पाइएको छ ।
नपढ्नाले मैले पाएको जस्तो दुःख छोरीहरूले नपाउन् भनेर बोर्डिङ स्कुलमा पढाइरहेको छु, व्यवसायी डाँगीले भन्नुभयो, जेठी छोरीले घोराहीमा बीबीएस तेस्रो वर्षमा, माहिली छोरीले तुलसीपुरमा प्लस टु र अरू दुई छोरीले गाउँकै बोर्डिङमा पढ्ने गर्छन् । सबै खर्च भैँसीपालन व्यवसायले धान्ने गरेको छ ।