चितवन। नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले परियोजना प्रमुख सोमनाथ घिमिरे र जोन संचालक समिति अध्यक्ष बालिका गिरीको मिलेमतोमा व्यापक आर्थिक अनियमितता भएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा तालाबन्दी गरेको छ ।

कार्यलय प्रमुख सोमनाथ घिमिरेले पदको दुरुपयोग गरेर जोन संचालक समितिका अध्यक्ष बालिका गिरी समेतको मिलोमतोमा आफ्नै परिवारको सदस्य समेत सहभागी गराई कार्यालयबाट प्रवाहित हुने सेवा र सुबिधा नारायणी एग्रो कम्पनी र दोभान एग्रो फार्म दर्ता गरेर आफ्नै कम्पनीमा अधिकांश योजना बिनियोजन गरेर वास्तविक किसानहरुलाई पछि पारेको आरोप लगाएको  छ ।

देजमो चितवनका अध्यक्ष अशोक शर्माका अनुसार किसानले पटकपटक निवेदन दिदा अहिले योजना छैन पछि आउनु भन्दै हप्काएर पठाउने सोमनाथ घिमिरेले सबै योजना आफ्नो फर्ममा पार्ने मात्रै हैन कतिपय योजना बिल पेश गरेर कामै नगरी किर्ते गरि रकम हिनामिना गरेको गुनासो आफुहरु समक्ष आएपछि प्रमुख जिल्ला अधिकारि सहित सम्बन्धित निकायमा निवेदन दिई छानबिनको माग आफुहरुले गरेको पनि बताएका छन् ।

स्थानीय किसान केदार परियार र डम्बर मगर भन्छन्, “यो कार्यालयले किसानलाई भन्दा पनि हाकिम र कर्मचारीको मात्रै हित गरेको छ । कार्यालयमा कर्मचारी भेट्नै मुस्किल हुन्छ सेवाग्राही अमित सापकोटाको गुनासो थियोे ।

देजमो चितवनका अध्यक्ष अशोक शर्मा, क्रान्तिकारी माओवादीका नेता घननाथ सापकोटा बिकास को नेतृत्वमा गएका कार्यकर्ताले मुलगेटमा विरोध ब्यानर, कार्यालयको बोर्डसंगै भ्रष्टाचार कार्यालय लेखिएको बोर्ड टांगेका थिए भने कर्मचारी बाहिर निकालेर कार्यालयमा तालाबन्दी गरेका थिए ।

देजमोको विरोधलाई स्थानीय जनताले चासोका साथ हेरेका थिए । तरकारी खेती गर्दै आएका दिनेश घिमिरेले भने, ‘यसरी जनताको करबाट संचालित योजनामा भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही गरेर देजमोले राम्रो काम गरेको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन, चितवनका कार्यालय प्रमुख सोमनाथ धिमिरे लगायतका कर्मचारीहरले व्यापक आर्थिक अनियमितता गरेको विषयलाई लिएर पटक–पटक प्रमुख जिल्ला अधिकारी लगायतका निकायमा ध्यानाकर्षण गराउँदा समेत त्यसको कुनै सुनुवाई नभएकोले मोर्चाले तालबन्दी गर्नु परेको स्पष्ट पारेको छ । मोर्चाले परियोजनामा भएको अनियमितताको छानविन गरी कार्वाहीको माग राख्दै माघ २८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा मोर्चाले राज्यकोषको दोहन गर्ने घिमिरे लगायतका कर्मचारीहरुलाई छानविन गरी कानुनी दायरामा ल्याएर कार्वाही नगरिए जनताले कार्वाही गर्ने चेतावनी दिएको थियो ।