यो प्रविधिले प्रतिकूल मौसममा पनि अनुकूल वातावरण सृजना गरी तरकारी उत्पादन गर्न प्लाष्टिक घर बनाइन्छ । नेपालमा जेठदेखि भदौसम्म वर्षाबाट जोगाउन र हिउँदमा मङ्सिरदेखि फागुनसम्म चिसोबाट बिरुवा जोगाउन प्लाष्टिक घर निर्माण गरी तरकारीखेती गरिँदै आएको छ ।

विविधीकरण :
लगातार बाह्रै महीना एउटै तरकारीको खेती प्लाष्टिक घरभित्र गर्नु राम्रो मानिँदैन । त्यसले रोग तथा कीराको प्रकोप बढ्नुका साथै माटोको अवस्था पनि बिग्रन्छ । तरकारी बाली लगाएपछि भटमास, बोडीलगायतको कोसेबाली लगाउन सकिन्छ । एकपटक तरकारी लगाइसकेपछि चैतदेखि जेठसम्म पानी नपर्ने तथा गर्मी हुने भएकाले प्लाष्टिक घरको प्लाष्टिक हटाएर सयपत्री फूल वा तोरी रोप्नु उपयुक्त हुन्छ । करीब डेढ महीनापछि उक्त फूल वा तोरी माटोमा मिलाई पारदर्शी प्लाष्टिकले ३० देखि ४२ दिनसम्म हावा नछिर्ने गरी छोप्नुपर्छ । यसो गरेमा निमाटोड तथा माटोमा रहेका अन्य रोगकीराका जीवाणु नियन्त्रण गर्न सकिन्छ । प्लाष्टिक घरमा वर्षायाममा गोलभेँडा र हिउँद याममा काँक्रा, जुकेनीलगायतको खेती गर्नु बढी लाभदायक हुन्छ ।

प्लाष्टिकको छनोट तथा व्यवस्थापन:
सामान्यतया नेपालमा ४५ देखि ९० जीएसएमसम्मको पारदर्शी सिल्पाउलिन प्लाष्टिक प्रयोग गर्ने गरिएको छ । बढी हावा चल्ने र असिना पर्ने ठाउँमा १ सय २० जीएसएमसम्मको प्लाष्टिक प्रयोग गरिन्छ । जति बढी जीएसएमको प्लाष्टिकको प्रयोग गरियो, त्यति कम सूर्यको प्रकाश बिरुवाले पाउने गर्छ । त्यसबाट उत्पादन घट्ने हुँदा हावाहुरी र असिनाको प्रकोप कम भएको क्षेत्रमा भने ४५ जीएसएमको प्लाष्टिक प्रयोग गर्नु राम्रो हुन्छ ।

अहिले नेपालमा पनि विकसित देशले प्रयोग गर्ने प्लाष्टिकसमेत उपलब्ध छ । केही महँगो भए तापनि व्यावसायिक खेतीका लागि सो प्लाष्टिकको प्रयोगले उत्पादन बढाउन सकिन्छ । त्यस्तै, प्लाष्टिक घरमा चारैतिर कीरा नछिर्ने आकारको प्वाल भएको सेतो नाइलनको जाली प्रयोग गरी प्रकोप कम गर्न सकिन्छ ।

प्लाष्टिक घर निर्माण :
समुद्री सतहबाट कम उचाइ भएको ठाउँमा सामान्यतया तापक्रम बढी हुनाले प्लाष्टिकको घर अग्लो बनाउनुपर्छ । बढी उचाइ भएको ठाउँमा तापक्रम कम हुने हुँदा घर होचो बनाउनुपर्छ । ८ देखि १ हजार १ सय मिटरसम्मको उचाइमा धुरी खाँबा ४ मिटरको हुनुपर्छ । त्यस्तै, छेउको खाँबा ३ मिटर उचाइको हुनु राम्रो मानिन्छ । १ हजार १ सयदेखि १ हजार ४ सय मिटरसम्मको उचाइमा धुरी खाँबा ३ दशमलव ५ र छेउको खाँबा २ दशमलव ५ हुुनुपर्छ । १ हजार ४ सयमाथि १ हजार ९ सय मिटरसम्मको उचाइमा धुरी खाँबा ३ तथा छेउको खाँबा २ मिटर उचाइको बनाउनु उपयुक्त हुन्छ ।

बढी गर्मी हुने ठाउँमा प्लाष्टिक घर निर्माण गर्दा हावा ओहोरदोहोर गर्ने ९भेण्टिलेशन० हुनुपर्छ । अत्यधिक चिसो क्षेत्रमा तापक्रम बढाउन गुमोज आकारको घर निर्माण गर्नुपर्छ । तापक्रम र आद्रता नियन्त्रण गर्न प्लाष्टिक घरको आकार धेरै ठूलो नबनाई ठाउँअनुसार ५ देखि ६ मिटर चौडाइ र १० देखि २५ मिटर लम्बाइ भएको घर उपयुक्त हुन्छ । साथै, घर बनाउँदा स्लोप मिलाउन पनि आवश्यक छ । तरकारी बालीको उत्पादन र आम्दानी बढाउन उपयुक्त तरकारीको जातको छनोटमा समेत ध्यान पु¥याउनुपर्ने हुन्छ ।