गुल्मी । स्थानीय युवाहरूलाई गाउँमै रोक्न गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि उत्पादनमा आधारित अनुदान दिन सुरु गरेको छ । झन्डै एक दर्जन कृषिजन्य वस्तु उत्पादन र बिक्री गर्दाको समयमा हुने तौललाई आधार मानेर रकम अनुदान दिन सुरु भएको हो ।

यस्तो कार्यक्रमले युवाहरूलाई बिदेसिनबाट रोक्नुका साथै कृषिजन्य उत्पादनको वृद्धि र कृषि कर्ममा प्रोत्साहन मिल्ने धुर्कोट गाउँपालिका–४ का उपाध्यक्ष शिव खत्रीले बताए । उनका अनुसार अनुदान प्राप्त गर्न सहकारीमार्फत कारोबार गर्नुपर्छ । उत्पादनमा आधारित कृषि अनुदान देशमै पहिलो र नमुना कार्यक्रम भएको उनको दाबी छ ।

कस्ता किसानले अनुदान पाउँछन् :
गाँउपालिकाको निर्णय अनुसार वर्षमा तीनभन्दा बढी खसीबोका उत्पादन गरी जिउँदो बिक्री गर्दा प्रतिकेजी २५ रुपैयाँ अनुदान पाइन्छ ।त्यस्तै वार्षिक एक सय लेयर्स र १० लोकल कुखुरा पालेर व्यावसायिक अन्डा उत्पादन गर्नेलाई प्रतिअन्डा २ रुपैयाँ, मासिक ५० लिटरभन्दा बढी दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ थप रकम गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए ।

त्यस्तै कृषिमा वार्षिक पाँच क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नेलाई प्रतिकेजी पाँच रुपैयाँ, दुई क्विन्टल लसुन, चार क्विन्टल प्याज उत्पादन गर्नेलाई प्रतिकेजी रू। १० र प्रतिसिजन १० क्विन्टल आलु उत्पादन गर्ने किसानले १० हजार रुपैयाँ अनुदान पाउनेछन् ।

वार्षिक एक सय पोकामा च्याउखेती गर्नेलाई प्रतिकेजी ५०, मौसम, सुन्तला, कागती र कफीका १ सयभन्दा बढी बिरुवा लगाएर बचाउने किसानलाई प्रतिबोट ४० रुपैयाँका दरले वार्षिक अनुदान दिने पोख्रेलले बताए ।

गाउँपालिकाले वार्षिक १० माहुरी घार पाल्नेलाई प्रतिघार ५ हजार, कृषिजन्य वस्तुको बिउ उत्पादनका लागि आवश्यक मूल बिउमा ५० प्रतिशत, प्राविधिक र मेसिन औजारमा ७० प्रतिशत अनुदान दिने निर्णय पनि गरेको छ ।

किसानका लागि तालिम र सिँचाइको व्यवस्था गाउँपालिका आफैँले गर्ने कार्यालयले जनाएको छ । सबै किसानले आफ्नो उत्पादनको कारोबार सहकारीमार्फत नै गर्नुपर्ने व्यवस्था रहेको गाउँ कार्यपालिका सदस्य कविता विकले बताइन् ।

सहकारीले त्यसको विवरण गाउँपालिकामा बुझाएपछि अनुदान पनि सहकारीमार्पत नै उपलब्ध हुन्छ । अनुदान रकमका लागि किसानले सम्बन्धित वडा कार्यालय, कृषि प्राविधिक र सहकारीबाट उत्पादन र बिक्री गरेको प्रमाणित गर्नुपर्ने हुन्छ ।

जैसीथोकका सबै किसान हिमचुली कृषि तथा पशु विकास महिला सहकारीमा आबद्ध छन् । ३ सय १७ घरधुरी रहेको जैसीथोकका ५ सय २९ किसान सहकारीमा आबद्ध छन् । गाउँपालिकाको अनुदान नीति सहकारीका सबै सदस्यमा सुरु भएको कोषाध्यक्ष राधिका घिमिरेले बताइन् ।

अनुदानलाई १५ लाख बजेट
उत्पादनमा आधारित अनुदानका लागि मात्र वार्षिक १५ लाख रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेको छ । त्यस्तै कृषि र पशुपालनका नियमित कार्यक्रमका लागि १ करोडभन्दा बढी रकम छुट्याइएको छ । लगातार ५ वर्ष काम गर्ने किसानका लागि गाउ“पालिकाले किसान सुरक्षा कोष स्थापना पनि गरेको छ ।

सबै व्यावसायिक किसानको बैंक खाता खोलेर किसानको आम्दानीबाट १० प्रतिशत र त्यसमा १० प्रतिशत गाउँपालिका थप गरेर सुरक्षा कोषमा जम्मा गर्ने गाउँपालिकाले जनाएको छ । सो रकम किसानले ५ वर्षपछि निकाल्न पाउने व्यवस्था गरेको छ ।