तेह्रथुम। पूर्वी नेपालमा नगदेबालीको रुपमा किसानहरुले खेती गर्दै आएको अम्लिसोको कुचोले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गएको तीन वर्षको तुलनामा यो वर्ष ७५ प्रतिशत मूल्यमा गिरावट आएपछि किसान चिन्तित भएका हुन् ।

व्यवसायिक रुपमा अम्लिसो खेती लगाएर जिविकोपार्जन गर्दै आएका किसान मारमा परेका छन् । विगतका वर्षमा राम्रो मूल्य पाएको अम्लिसोको व्यवसायिक खेतीसमेत बढ्दो रहेको थियो । बजारमा माग बढ्दै गर्दा खेती थालेका किसानले उत्पादन गरी बेच्ने बेला मूल्य घटेपछि चिन्तित बनेका हुन् ।

दुई वर्षयता अम्लिसोको मूल्य गिर्दै आएको र यो वर्ष झनै गिरावट आएकाले आफूजस्तै किसानहरु मारमा परेको छथर गाउँपालिका–२ का किसान झपटबहादुर कार्कीले बताउनुभयो । ‘अन्नबाली लागिरहेको ठाउँमा अम्लिसो रोपियो, अहिले मूल्य घटेर नोक्सानी बेहोर्नुपरेको छ,’ उहाँले गुनासो गर्नुभयो ।

गाउँमा धेरैले मकै कोदो फल्ने पाखोबारीमा अम्लिसो लगाएका छन् । कामदार अभाव हुँदा अम्लिसो खेती लगाउन थालेका किसानलाई कुचोको मूल्य घटेर समस्या भएको हो । ‘बारी खन्ने मान्छे भएनन् भनेर अम्लिसो लगाइयो, पहिले मूल्य पनि राम्रो थियो, अहिले मूल्य घटेपछि समस्या भएको छ,’ ह्वाकुका किसान टिका गुरुङले भन्नुभयो । सुख्खा र पाखोबारीमै पनि खेती हुने अम्लिसोको मूल्य यो वर्ष घटेर प्रतिकेजी २५ रुपैयाँमा झरेको छ ।

अम्लिसोको कुचोको मूल्य तीन वर्षअघि प्रतिकेजी १ सय १० रुपैयाँ थियो । किसानले मूल्य नपाएपछि अम्लिसो खेती निल्नु न ओकल्नु भएको छ । लगाएको खेती हटाउने वा फेरि पनि गरिरहने भन्ने चिन्ता किसानलाई परेको छ ।

मूल्य पर्खिएर किसानले गत वर्षदेखिको अम्लिसोको कुचो थन्काएर राखेका छन् लामो समयसम्म राखेपछि यसको फूल झरेर विक्री नहुने किसान बताउँछन् । अम्लिसोको खेती तेह्रथुमसहित पूर्वका धनकुटा, संखुवासभा, पाँचथर र इलाममा पनि विशेषरुपमा हुने गरेको छ । मूल्य घटेपछि यी जिल्लाका अम्लिसो किसानहरु चिन्तित बनेका छन् ।