इलाम। छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् ।जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको छुर्पीबाट मनग्य आम्दानी गर्दै आएका व्यवसायीहरु मूल्यमा गिरावट आएपछि मारमा परेका हुन् ।अमेरिका, जापान जस्ता देशमा कुकुरलाई खुवाउन प्रतिमहिना तीन टन नेपालको छुर्पीको माग हुने गरेको थियो ।
विगतमा यसको माग धान्न नै धौ–धौ पर्ने गरेका डेरी उद्योगलाई अहिले भने सुक्खा लागेको छ ।हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौं र सिल्भर लिंक आइएनसी प्रालि कलेक्सन सेन्टर काठमाडौंले इलामको छुर्पी खरिद गरेर निकासी गर्दै आएका थिए । उनीहरुले केही महिनाअघिसम्म प्रतिकेजी एक हजार रुपैयाँले छुर्पी खरिद गर्ने गरेका थिए । तर अहिले छुर्पीको मूल्य घटेर प्रतिकेजी ७ सय रुपैयाँमा झरेको छ ।
नेपालको छुर्पी गुणस्तरहीन भएको भन्दै अमेरिका र जापानले लिन आनाकानी गर्न थालेपछि मूल्यमा गिरावट आएको हो । छुर्पी खाएपछि कुकुरको रौं झर्ने, विरामी हुने जस्ता समस्या देखा परेको भन्दै अमेरिका, जापान जस्ता देशले नेपालको छुर्पी लिन नमानेकाले केही समय अघिबाट छुर्पी निकासीमा समस्या आएको व्यापारीहरुको भनाइ छ ।
बजारीकरणमा प्रतिस्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेकाले मागमा गिरावट आएकोे इलामका छुर्पी ब्यापारी ईश्वरी अधिकारीले जानकारी दिए । इलाममा ५६५ वटा दुग्द्यजन्य डेरी, चिज उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।