काठमाडौं । चोभारमा बन्न लागेको फलफूल तथा पुष्प संकलन केन्द्रको निर्माण कार्य सुस्त हुँदा विश्व बैंकको करोडौं अनुदान रकम फिर्ता हुने भएको छ।

केन्द्रको निर्माण २० प्रतिशत पनि हुन सकेको छैन। विश्व बैंकको सहयोगमा संचालित ‘व्यवसायिक व्यापार आयोजना’को अवधि सकिनै लाग्दा निर्माण  कछुवा गतिमा भैरहेको छ।

बाहिरबाट आयात गरी काठमाडौ उपत्यकाको लागि फलफूल तथा पुष्प उपजहरु वितरण गर्नको लागि यो संकलन केन्द्र निर्माण गर्न लागिएको हो। दुईवटा ५ तले, एउटा ३ तले भवन र अन्य केही संरचनासहित अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।

व्यवसायीक व्यापार आयोजनाको अवधि असार १६ गते सकिने र सोही मितिसम्म काम नभ्याए विश्व बैंकले अनुदान बापतको रकम फिर्ता लैजाने छ ।

महादेव खिम्ती निमार्ण सेवा, अनक कन्ट्रक्सन र बंगलादेशी कम्पनी साम्सोजाङले संयूक्त रुपमा ३३ करोडमा निर्माण गर्ने ठेक्का पाएका थिए। १ वर्ष अगाडि १३ महिनाको लागि ठेक्का सम्झौता भएपनि काम भएको देखिंदैन ।

चोभारको २२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको संकलन केन्द्र सम्पन्न भएमा उपत्यकाका बजारमा फलफूलको वितरण हुनेछ।