गिरिराज कुखुरा अण्डा र मासु दुवै उत्पादनका लागि पालिने र खासगरी छाडा छोडेर र अर्धछाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरुभन्दा रोगहरुसँग लड्न सक्ने र गाउँघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो ।
यसका दुई महिनाको तौल करिब १ किलो र ५ महिनामा लगभग ३ किलो ३ सय ग्रामसम्म हुन्छ । यसले एक वर्षमा १८० वटासम्म अण्डा पार्दछ, एक वर्षमा सरदर ४ किलोसम्म हुन्छ । मानव उपभोगका लागि अनुपयुक्त तथा भान्छामा खेर गएका विभिन्न खाद्य पदार्थहरुको प्रयोग गरी गिरिराज कुखुराबाट राम्रो उत्पादन लिन सकिन्छ ।
उपभोक्ताहरुले यो कुखुराको मासु र अण्डा अन्य यस्तै जातभन्दा बढी वा स्थानीय जस्तै मन पराउने भएकाले पनि यसले राम्रो बजार पाउने निश्चित छ । यसका अलावा यो जातको कुखुरालाई उन्नत जातको घाँसहरु जस्तै बर्सिम र कम्फ्रे तथा स्थानीय स्तरमा उपलब्ध हुने अन्य भुई तथा डालेघाँसहरु खुवाएर पनि पाल्न सकिन्छ । विद्युत आपूर्ति नभएको ठाउँमा स्थानीय स्तरमा उपलब्ध हुने सामाग्री प्रयोग गरेर न्यानो पार्ने बुडिङ बाकस समेत तयार पार्न सकिन्छ ।
यो कुखुरालाई अर्धछाडा छोडी पाल्ने किसिमले हुने घरटहरा बनाउनु पर्दछ । बस्ती र शहरबाट तुलनात्मक रुपमा टाढा भए पनि यातायातको सुविधा र बजारको व्यवस्था भएको ठाउँको छनौट गरिनुपर्दछ ।
गिरिराज कुखुरा स्थानीय स्तरमा पाइने दाना, घाँस, जाँडको कट र घरमा फ्याँकिएको अन्न आदि खुवाई सस्तो किसिमबाट उत्पादन लिन सकिने जात भएकोले यसलाई त्यसै अनुकूलको प्रविधिबाट व्यवस्थापन गर्नुपर्दछ ।
खोरको सन्दर्भमा सफा गर्न सजिलो, हावाको सञ्चार राम्ररी हुने र स्थानीय स्तरमा उपलब्ध हुन सक्ने सामग्रीको अधिकतम प्रयोग गर्न सकिने खालको बनाउन जरुरी हुन्छ । किसानहरुको यस्तै खालको मागलाई सम्बोधन गर्न बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रमद्वारा ७ वटा कुखुरा पाल्न सकिने स्थानीय स्तरमा पाइने सामग्रीहरु प्रयोग गरेर ५÷३÷४.५ घन फिटको खोर निर्माणको प्रविधि विकास गरेको छ ।