काठमाडौं। आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् । उम्मेदवारहरुले संविधान कार्यान्वयन, विकास निर्माण र राष्ट्र समृद्धिको एजेन्डा लिएर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।

तर, सर्वसाधारण र किसानलाई उम्मेदवारहरुको एजेन्डाले छुन सकेको छैन । खेतबारीमा काम गरिरहेका किसानलाई खेतबारीकै चिन्ता छ । उनीहरुलाई उम्मेदवारका संविधान कार्यान्वयन र राष्ट्रको आर्थिक समृद्धिका उधारो आश्वासनका एजेन्डाले कत्ति पनि आकर्षित गरेको छैन ।

उनीहरु अब निर्वाचित हुने सांसदले किसानका समस्या समाधान गर्नेमा आशा त व्यक्त गर्छन् । तर, विश्वस्त भने हुन सकिरहेका छैनन् ।

किसानहरुले चुनावको बेलामात्र नेताहरु घरदैलोमा आउने तर आफूहरुलाई समस्या पर्दा वास्ता नगर्ने गुनासो गरेका छन् । उनीहरुले जुन उम्मेदवारले आफूहरुका समस्या समाधान गर्न तयार हुन्छन्, तिनै उम्मेदवारलाई मत दिने निधो गरेका छन् ।

चुनावमा होमिएका राजनीतिक दलका उम्मेदवारहरुले ठूला–ठूला विकासका योजना र मुलुकको आर्थिक समृद्धिका नारा दिएपनि सामान्य मतदातामा भने दलका एजेन्डाप्रति धेरै चासो देखिएको छैन ।