काठ्माण्डौं |  गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए ।

दुई समूहमा रहेका अनुगमन टोलीमध्ये एउटाले ना.६ख ४५६६ नम्बरको ट्रकमा आएको तरकारीको विवरण र खरिद मूल्यको बिल माग्यो । मेचीनगर–१७, काँकडभिट्टा झापामा रहेको एसएसबी ट्रेड एन्ड सप्लायर्सको ट्रकमा काउली, भिन्डी, परवल र भ्यान्टा गरी कुल सात हजार पाँच सय किलो आयात भएको थियो ।

तर, बिलमा उल्लेख भएको मूल्य अपत्यारिलो थियो । किनभने सबै तरकारी प्रतिकिलो ११ रुपैयाँ ५० पैसाका दरले खरिद गरी कालिमाटीस्थित जयसवाल एसके स्टोरले ल्याएको थियो ।

साढे ११ रुपैयाँका दरले खरिद गरेको तरकारीको थोक मूल्य त्यस दिन काउली ७५, भिन्डी १००, परवल ७० र भ्यान्टा ६५ रुपैयाँ प्रतिकिलो थियो । उपभोक्ताले काउली १००, भिन्डी ११०, परवल ९० र भ्यान्टा ८० रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले तरकारीको मूल्य अस्वाभाविक रूपले बढेको बताए ।

‘तरकारीको मूल्यमा व्यापारीले मनोमानी गरेका छन्,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’ आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तरकारी मूल्य नियन्त्रणका विषयमा भएको छलफलमा महानिर्देशक दाहालले तरकारी अभाव नदेखिएको बताए । ‘यहाँ महँगो पैसा तिरेर खरिद गर्छु भन्दा जति पनि तरकारी पाइन्छ,’ उनले भने, ‘थोरै पैसामा मात्र किन्न नपाइएको हो ।’

किसानको मूल्य अनुगमन गर्ने

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकामा तरकारी आपूर्ति गर्ने पालुङटार, पाँचखाल, धार्केलगायतका स्थानमा पुगेर किसानले पाउने मूल्यको अनुगमन गर्ने बताएको छ । ‘अहिले तरकारीको भाउ अकासिँदा किसानले कति पाएका छन् भन्ने अध्ययन गर्नु आवश्यक भएको छ, त्यसैले चाँडै उपत्यकामा तरकारी आपूर्ति गर्ने स्थानमा पुगेर अनुगमन गर्छौं,’ उनले भने ।

कर्मचारीले दिए बाढीलाई दोष

कृषि विकास मन्त्रालय मातहतका कर्मचारीले मागअनुसार आपूर्ति नभएकाले मूल्य बढेको दाबी गरेका छन् । कृषि विभागका कार्यक्रम निर्देशक लक्ष्मणप्रसाद पौडेलले तराईमा बाढी आएर वर्षे तरकारी नष्ट गरेका कारण आपूर्तिमा समस्या भएको बताए । ‘यो बेला वर्षे तरकारी सकिएर हिउँदे तरकारी बजारमा आउनुपर्ने हो । तर तराईमा लगाइएको तरकारी बाढीले नष्ट गरेको छ र किसानले फेरि दोहो¥याएर लगाएको तरकारी निस्कन पाएको छैन ।’

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले आपूर्ति कम भएका कारण मूल्य बढेको दाबी गरे । ‘कालिमाटीमा सामान्यतः दैनिक सात सय टन तरकारी आपूर्ति हुन्छ, तर अहिले पाँच सयदेखि साढे पाँच सय टन मात्रै आइरहेको छ ।’

बिचौलियाका कारण महँगियो : अधिकारकर्मी

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले किसान र उपभोक्ताका बीचमा रहेका बिचौलियाले चर्को नाफा गरेका कारण मूल्य आकासिएको बताए । उनले अहिले जुनसुकै तरकारी किन्न गए पनि पाइने भएका कारण अभावले महँगिएको भन्ने तर्कसँग सहमत हुन नसक्ने विचार व्यक्त गरे । ‘धेरै पैसा हालेपछि जुनसुकै तरकारी किन्न पाइने अवस्था छ । बजारमा पैसा बोकेर तरकारी किन्न गएको कोही पनि खाली फर्किएको अवस्था पनि छैन ।’

व्यवसायी भेला भएर मूल्य तोक्छन्

राति १२ देखि बिहान ३ बजेसम्म कालिमाटीमा तरकारी आइसक्छ । तरकारी मौज्दात गरेर थोक विक्रेता मूल्य तय गर्न व्यवसायी भेला हुन्छन् । उनीहरूले खरिद गरेको मूल्य एक–अर्कालाई भन्दैनन्, तर बिक्री मूल्य समान राख्न सबै जुट्ने गरेको अनुगमनमा भेटिएको छ ।

‘थोक तरकारी व्यापारी करिब ५ बजे भेला भई सबै तरकारीको एउटा मूल्य तोक्छन् र सोही मूल्यमा खुद्रा बजारमा पठाउँछन्,’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने । उनले तरकारीको भाउ तोक्न व्यवसायीलाई खुला छाडिदिए विकृति झन् बढ्दै जाने भएकाले नियन्त्रण गर्नुपर्ने बताए । थोक व्यापारीले दुई सय प्रतिशतसम्म तरकारीबाट नाफा खाइरहेको अनुगमनले देखाएको उनको भनाइ छ । आजकोनयाँ पत्रिकामा खबर छ ।