बेनी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोलले गाउँबस्तीमा रौनक थपिएको छ । मुलुकका ३२ जिल्लामा पहिलो चरणमा आगामी मंसिर १० गते हुने निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका उम्मेदवार र राजनीतिक दलका नेता/कार्यकर्ता चुनावी प्रचारका लागि गाउँगाउँ पसेका छन् ।

बर्खेबाली थन्काउने र हिउँदे बाली लगाउने चटारोले बेफुर्सदिला बनेका ग्रामीण भेगका मतदाता उम्मेदवारका कुरा सुन्न चुनावी सभामा आउन नभ्याएपछि कतिपय उम्मेदवार मतदाताका खेत खेतमा समेत पुगेर आश्वासन बाँडिरहेका छन् । आफू विजयी भएपछि गर्ने कामका बारेमा उनीहरु योजना सुनाउँदै मत मागिरहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी १३ जना उम्मेदवार म्याग्दीको चुनावी मैदानमा उत्रिएका छन् । वाम र लोकतान्त्रिक गठबन्धनका ६ जना उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।  वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य भूपेन्द्रबहादुर थापा र नेपाली काँग्रेस, राप्रपाको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाबीच प्रतिस्पर्धा हुने निश्चित छ ।

त्यसैगरी प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फबाट विनोद केसी र प्रजातान्त्रिक गठबन्धनका तर्फबाट भीमप्रसाद गौचनबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । नाति र हजुरबुबा पुस्ताका यी दुई उम्मेदवारको प्रतिस्पर्धालाई यहाँका मतदाताले निकै कौतुहलताका साथ प्रतीक्षा गरिरहेका छन् ।

उता प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट नरदेवी पुन र लोकतान्त्रिक गठबन्धनका तर्फबाट अमलाल फगामीको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
वाम गठबन्धनका उम्मेदवार र तिनका नेताहरुले जिल्लाका विभिन्न गाउँमा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिसकेका छन् । चुनावी सभामा उनीहरुले आश्वासन र योजना बाँड्न थलेका छन् । निर्वाचित भएपछि आफूले गर्ने कामका बारेमा मतदातालाई जानकारी दिँदै भोट माग्नमा केन्द्रित छन् ।