काठमाडौ। माग अनुसारको आपूर्ति नभएपछि तरकारीको मुल्य दोब्बर भएको छ ।हिन्दुहरुको महान चाड दशै र तिहारको बीचमा तरकारी आपूर्तिमा हवात्तै कमि आएपछि राजधानी काठमाण्डौमा तरकारीको मुल्य अकासिएको हो । अघिपछि खचाखच तरकारी पाईने काठमाण्डौको कालिमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा अहिले पर्याप्त तरकारी आउन नसकेपछि त्यसको प्रत्यक्ष प्रभाव उपभोग्य मुल्यमा देखिएको हो ।

सर्वसाधरणको भान्सामा दैनिक उपभोगमा आउने आलु, प्याज, टमार, काउली लगायत तरकारीको मुल्य दशै अघिको तुलनामा दोब्बर भएको छ । दशै अगाडि ढकको ४ सय रुपैयामा पाईने काउलीको अहिले थोक मुल्य ८ सय रुपैया पुगेको छ । त्यसैगरी २ सय रुपैया प्रति ढकको लौका अहिले ३ सय ५० रुपैया पुगेको छ ।

दशै अगाडि एक सय ५० रुपैया प्रति ढकमा पाईने टमाटर अहिले ४ सय ५० देखि ५ सय रुपैया पुगेको छ । कालिमाटीस्थित तरकारी बजारका व्यापारी बजारमा तरकारी आपूर्तिमा कमि आएपछि मुल्य बढेको स्वीकार गर्छन् ।

असोज कातिकको समयमा तरकारीको उत्पादनमा तुलनात्मक रुपमा कमि आउनु, सिजन अनुसार मागको बैज्ञानिक विश्लेषण गरि उत्पादनमा वृद्धि गर्न नसक्नु तथा उपभोक्ताको विकल्पका रुपमा बजारमा तरकारी प्रसस्त आउन नसकेकाले मुल्य बढेको तरकारी व्यवसायीको तर्क छ । त्यस्तै चाडवाड मनाउन सबै व्यस्त भएपछि कामदारको अभावमा कृषकको बारीबाट बजारसम्म तरकारी आउन नसकेकाले पनि मुल्य प्रभावित भएको हो ।

दशै तिहारमा बढेको तरकारीको मुल्यमा कमि आउन झण्डै ५ महिना लाग्ने तरकारी व्यवसायी बताउँछन् । प्रतिकुल सिजनमा उत्पादन नबढ्ने तथा लौका लगायत केही तरकारी भारतबाट ल्याउनुपर्ने भएकाले स्वदेशी उत्पादन नबढेसम्म तरकारीको मुल्यमा खासै कमि आउन नसक्ने बल्खु कृषि तथा तरकारी बजारका अध्यक्ष बस्नेतको तर्क छ ।

राजधानी काठमाण्डौमा सर्लाही, चितवन, धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोक, भक्तपुर लगायत स्थानबाट तरकारी आउने गर्दछ ।