काठमाडौं। सुख्खायाम सुरु भएपछि नेपाल खानेपानी संस्थानले खानेपानीको ‘लोडसेडिङ’ लार्इ बढाउँछ। सातामा तीन पटक खानेपानी दिने तालिकामा परिवर्तन गरेर दुर्इ वा एक पटकमा झारिन्छ।

संस्थानका उच्च तहका कर्मचारीकै निर्देशनमा विगतमा नेपाल विद्युत प्राधिकरणले माग र आपूर्तिको हिसाब गरेर लोडसेडिङ तालिका बनाएजस्तै पानी वितरणको तालिका बन्छ।

संस्थानले वर्षोदेखि एउटै फर्म्याटमा तयार पारेको तालिका छ, जुन अहिले पनि कार्यान्वयनमा छ। संस्थानले सुक्खायाम लागेपछि भन्ने गर्छ- असारदेखि माघसम्म हामीसँग दैनिक १४ करोड लिटर खानेपानी हुन्छ तर फागुनदेखि असारसम्म घटेर ११ करोड लिटरमा झर्छ। तीन करोड लिटर पानी कम हुँदा खानेपानीको तालिका परिवर्तन गरेर घटाउनुपरेको संस्थानको दावी रहने गरेको छ।

यो विगतमा प्राधिकरणका कार्यकारी निर्देशकसहितका उपल्ला कर्मचारीले इन्भर्टर र सोलार व्यवसायीको प्रभावमा परेर लोडसेडिङको तालिका बढाउँदा गरे जस्तै तर्क हो। सुख्खायाम लागेपछि संस्थानका पानी तान्ने मोटर विग्रन थाल्छन्।

‘चलिरहेका मोटर समेत विग्रेको भनेर बन्द गरिन्छ, संस्थान सम्बद्ध स्रोतले भन्यो- सुख्खायाममा मुहानको पानी कम भएपनि भूमीगत स्रोतबाट तान्न मिल्छ तर पानी तान्ने मेशिन बिगारेर उपभोक्तालार्इ नयाँ वितरण तालिका पठाइन्छ।’

यो वर्षोदेखि संस्थानभित्र हुर्किएको वेथिती रहेको स्रोतको दावी छ। तर, कुनैपनि निकायले यसमा ध्यान दिएका छैनन्। ‘विगतमा जब सुख्खा याम लागेर बिजुली अभाव बढ्थ्यो प्राधिकरणले त्यही बेला सबै भन्दा ठूलो आयोजना कालीगण्डकी-ए को  मर्मत सुरु गर्थ्यो, स्रोतको भनाइ छ- जसबा लोडसेडिङ गर्ने अभिष्ट पुरा हुन्थ्यो, त्यसैगरी गर्मी याम सुरु भएसँगै संस्थानका मोटर बिग्रिन थाल्छन्।’

सर्वसाधारणले धारामा पानी जोडसँग आओस् भनेर संस्थानले वितरण गरेको बेला मोटर लगाएर तान्ने समेत गरेका छन्। विगतमा लोडसेडिङको कारण संस्थानको वितरण र प्राधिकरणको बिजुली एकै समयमा नहुँदा उपभोक्ताले पानी कम पाउँथे। तर, अहिले बिजुली अभाव नरहँदा पनि संस्थानको पानी नआएको उपभोक्ताको गुनासो छ।

जब सुख्खायाम सुरु हुन्छ त्यसपछि निजी ट्यांकर व्यवसायीको कारोबार चम्किन थाल्छ। सुख्खायाममा संस्थानले दैनिक तीन करोड लिटर पानी घटाउने वित्तिकै त्यो सोझै ट्यांकर व्यवसायीको कारोबारमा ‘प्लस’ हुन जान्छ। उपत्यकामा संस्थान कर्मचारीले पानी तान्ने मेसिन विगारेर तालिका अनुसार एक दिन मात्र वितरण गोलमाल पार्दा ट्याङ्कर ब्यवसायीको कम्तिमा १० करोड लिटर खानेपानी बिक्री हुन्छ।

तालिका अनुसार एक पटक धारामा पानी नआउने वित्तिकै सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्छ र उनीहरु पानीको जोहो गर्न थाल्छन्। १० करोड लिटर पानी आपूर्ति गर्न १२ हजार ट्यांकर (प्रति ट्याङ्कर आठ हजार लिटर) भन्दा बढी चाहिन्छ। यसरी प्रति ट्याङ्कर औसत दुई हजार रुपैयाँ मूल्यमा दैनिक साढे दुई करोड रुपैयाँको खानेपानीको कारोबार हुन्छ।

यही अढार्इ करोडको कारोबारमा खानेपानी लोडसेडिङको स्वार्थ लुकेको स्रोतको भनाइ छ। बर्षोदेखि खानेपानीको अभाव भएपछि ट्यांकर व्यवसायी थपिने क्रमसँगै संगठन समेत बनिसकेको छ। नेपाल खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघ अन्तर्गत खानेपानी ट्यांकर व्यवसायीहरु आवद्ध छन्। उपत्यकामा अहिले सात सय खानेपानी ट्यांकर छन्।

संघका अध्यक्ष विष्णु दाहालले सुख्खायाममा दैनिक पाँच करोड लिटर खानेपानीको कारोबार ट्यांकर व्यवसायीले गर्दै आएको बताए। संघको तथ्यांकका आधारमा पनि दैनिक सवा करोड रुपैयाँको बराबरको खानेपानीको कारोबार निजी क्षेत्रबाट हुन्छ।

प्राधिकरणसँग नमिल्ने खानेपानी हाकिमको भनाइ
खानेपानी लिमिटेड र विद्युत प्राधिकरणबीच समानता नरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्याकारी निर्देशक डा. महेश प्रसाद भट्टराईको दावी छ।

‘विद्युत प्राधिकरणको सेन्ट्रलाईज पद्धति छ भने खानेपानी विकेन्द्रिकृत छ। खानेपानीको पाईपलाईन पुरानो भएकाले चुहावट पनि धेरै छ, उनले भने- पुरानो पाईपलाईन भएकाले सबै ठाउँमा पानी पनि चढ्दैन। एउटा टोलमा सधैँ आईदिन्छ भने सँगैको अर्को टोलमा पानीको बहाब धेरै भएपछि मात्र पानी जान्छ। त्यसैले विद्युतसँग पानीको तुलना हुन सक्दैन।’ सुख्खायाममा खानेपानीका मोटर धेरै समय चल्ने हुँदा बिग्रने गरेको उनको दावी छ।

‘असारदेखि माघ सम्म बग्ने पानीको स्रोत धेरै हुन्छ। मोटर चलाएर पानी तानीरहनु पर्दैन। फागुनदेखि मोटर धेरै चल्छन्, गर्मी बढ्दै गर्दा पानीको स्रोत घट्दै जान्छ, उनले भने- सतहको पानी धेरै तान्नुपर्ने हुन्छ, १५/२० घण्टा मोटर चलाउउँदा बिग्रिन्छन् र बनाउन दुई/चार दिनदेखि हप्ता दिनसम्म पनि लाग्छ। त्यो बेला पानी आपूर्ति गर्न सकिँदैन।’

पानीका स्रोत कहाँ कति
कीर्तिपुरमा दैनिक १६ लाख लिटर
सुन्दरीजलबाट दैनिक ४ करोड लिटर
भूमिगत पानी बोरिङ गरिएको स्रोत ६ करोड लिटर

-बिजमाण्डू बाट