काठमाडौँ। सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ ।

शुक्रबार राजधानीमा नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए । उनले युवा पुस्तालाई आधुनिक रुपमा कृषि पेसामा लाग्न आग्रह गरे ।

कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरी रिजालले उद्यमशील व्यक्ति सक्रिय भई स्वदेशमा नै यस्ता यन्त्र उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

नेपाल कृषि मेसिनरी व्यावसायिक सङ्घका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठले कृषिमा उत्पादन र उत्पादकत्व बढाउनका लागि कृषिलाई यान्त्रीकरण गर्नुपर्नेमा जोड दिए ।

तीन दिनसम्म चल्ने सो प्रदर्शनीमा भारत, मलेसिया, चीनलगायत १६ वटा देशका विभिन्न किसिमका कृषि यन्त्र, पोल्ट्रीका सामग्री र थोपा सिँचाइबारे जानकारी गराउने २०० भन्दा बढी कक्ष राखिएको छ । दुई लाखभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने बताइएको छ ।