मुगु। विकट हिमाली जिल्ला मुगुमा खाद्यान्नमा अनियमिता रोकिनु भन्दा झनै बढ्दै गएको छ । अभाव र विकटताले ठगिएका मुगुवासीमाथि जिम्मेवार निकायबाटै बारम्बार ठगी हँुदै आएको छ ।

सरकारी अनुदानको खाद्यान्नमा समेत तोकिएको मूल्य भन्दा बढी लिएर मुगुवासीलाई मार्ने काम भइरहे पनि कुनै निकायले ध्यान दिन सकेको छैन ।

केही दिन अघि मुगुको पुलु डिपो अन्र्तगत पर्ने मुगु, किम्री, पुलु, दोल्फु, माग्री गाविसमा बस्ने स्थानीय जनताको लागि खाद्य संस्थान मुगुबाट पुलु डिपोसम्म ढुवानीको जिम्मा पाएको ऋणी मोक्क्ष बक्स कन्स्ट्रक्सन प्रा.लिले बिच बाटोबाटै चर्को मुल्यमा बिक्री वितरण गरेको खबर सेलाउन नपाउदै पुनः मुगुको अर्को क्षेत्रमा खाद्यान्न कार्यलयबाट पठाएको चामालमा मनपरि मूल्य लिएर बेच्ने गरेको पाइएको छ । यसअघि ३० के जी चामलको ९ सय ८० रुपैया हुँदा ठेकेदारले १४ सय ५० देखि १६ सय सम्ममा बिक्री गरेको थियो ।

यसपटक खत्याड भेगको सेरी ,श्रीकोट ,खमाले,गम्था ,कोटडाडा, सुमाढिक ,ह्याङ्गलु गाविसका लागि पठाएको चामलमा अनियमिता भएको पाइएको हो ।९ सय ८० रुपैयाँको चामललाई १ हजार रुपैयाँ लिएको पाइएको छ ।

त्यसमा पनि ढुवानीको जिम्मा पाएका कम्पनीले विच बाटोमा नै विक्रि गर्ने र सर्वसाधरणलाई तोकिएको मूल्य भन्दा बढी मूल्य लिएको स्थानीयवासीको गुनासो छ ।

यता बीच बाटोमा नै खाद्यान्न बिक्री गर्ने फार्म ऋणी मोक्क्ष बक्स कन्स्ट्रक्सन प्रा.लिलाई कारवाही गर्नुको सट्टा प्रशासन मौन बसेको छ । खाद्य संस्थान मुगुका प्रमुख गंगाराम शाहले अनियमिता गरेको कुनै प्रमाण नभएको भन्दै ऋणी मोक्क्षको बचाउ गरेका छन् ।