म्याग्दी। सरकारी निकायहरुले बेनीमा गर्ने गरेका बजार अनुगमन प्रभावहिन भएका छन् । नियम मात्र पुर्याउने तरिकाले गरिएका बजार अनुगमनले कुनै परिवर्तन ल्याउन नसकेको उपभोक्ताहरु बताउँछन् ।

बजार अनुगमन टोलीले बेनीका मासु व्यवसायीहरुलाई मूल्यसूची राख्न र मूल्यमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । पटक पटक गरिएका यस्ता अनुगमनले बजारलाई सुधार ल्याउन सकेको छैन ।

अनुगमन टोलीले सबै पसलमा मूल्य सूची नभएको, अद्यावधिक नगरेको र फरक फरक मूल्यमा मासू बिक्री गरेको पाइएपछि यस्तो निर्देशन दिएको हो । यसैगरी टोलीले बिक्रीका लागि राखेको सडेको माछा बरामद गरी व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाएको पशु चिकित्सक जिवनप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार दर्ता नभएका मासु पसललाई दर्ता प्रक्रियामा आउन समेत निर्देशन दिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक मनबहादुर पुनको नेतृत्वमा बुधबार बेनीका २३ वटा मासु पसलको अनुगमन गरिएको थियो ।

टोलीमा सहयाक प्रजिअ यादवनाथ आचार्य, प्रहरी निरिक्षक दिवाकर घिमीरे, पशु चिकित्सक जिवनप्रसाद आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य, जिल्ला प्रशासनका नायव सुब्बा नविन सुवेदी, वडा सचिव कृष्ण शाक्य र पशु सेवा प्राबिधिक प्रदिप गौतमको सहभागीता रहेको थियो । पछिल्लो समय बजार अनुगमन फितलो हुने गरेको र व्यवसायीहरु निर्देशनलाई कार्यान्वयन गर्न आलटाल गर्ने गरेका छन् ।