काठमाडौ। सिंचाई मन्त्री दिपक गिरीले समृद्ध तराई मधेश सिँचाई विकास विशेष कार्यक्रमलाई ओझेलमा पारेको भन्दै पूर्व सिचाई मन्त्री उमेश यादवले आपत्ति जनाएका छन् ।
माओवादी केन्द्रका नेता समेत रहेका पूर्वमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा सो विशेष कार्यक्रमका लागि वजेट स्वीकृत भइसक्दा पनि कार्यान्वयनमा ल्याउन मन्त्री गिरीले आलटाल गरिरहेको आरोप लगाएका छन् ।
हाल सो सिचाई मन्त्रालय काँग्रेसको भागमा परेको छ । नेता यादव मन्त्री भएको बेला मधेशका ११ जिल्लालाई लक्षित गरी विशेष कार्यक्रम ल्याएका थिए । सो विशेष कार्यक्रमलाई ओझेलमा पार्नका लागि समयमा अख्तियारी नपठाउनु, कार्यक्रम मधेश लक्षित भएपनि त्यसको कार्यालय मधेशमा स्थापना गर्न नचाहनु, मौखिक आदेशमा कार्यक्रममा रोक लगाउने जस्ता कार्य मन्त्री गिरीले गरेको उनले विज्ञप्तिमार्फत आरोप लगाएका छन् ।
११ जिल्लाका लागि लक्षित गरिएको सो कार्यक्रम मन्त्री गिरीले सोही बजेटमा मधेशको २२ वटै जिल्लामा शुरु गर्न लागेको बताउँदै उनले किसानमाथि विश्वासघात गरेको आरोप लगाएका छन् । २२ वटै जिल्लामा कार्यक्रम लग्नु राम्रो हो तर त्यस अनुसारको बजेट पनि दिनुपर्यो भन्दै पूर्वमन्त्री यादवले बजेटको व्यवस्था गरेर मात्र कार्यक्रम विस्तार गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘कुनै न कुनै बाहनामा यस कार्यक्रमलाई रोक्ने रणनीतिमा मन्त्री गिरी रहनु भएको छ ।’उनले यस विषयमा माघ ७ गते संसदमा पनि कुरा उठाएका छन् ।
नेपाली काँग्रेसको मधेश विरोधी चरित्रका कारणले नै सो पार्टीले मधेशको कार्यक्रमलाई ओझेलमा पार्न खोजेको उनको आरोप छ । कार्यक्रम संशोधनको नाममा कार्यक्रमलाई प्रभावकारी हुन नदिने र विचमै समाप्त पार्न खोजेको उनको आरोप छ ।