काठमाडौं। मुलुकमा मुख्य–मुख्य खाद्यान्न बालीका लागि चाहिने उन्नत बीउ अपुग हुने गरेको छ । बीउ उत्पादन तथा वितरणका लागि बजेट न्यून हुनु, बीउको उत्पादन पकेट क्षेत्रको व्यवस्थापन, संकलन, प्रशोधन तथा भण्डारण स्थल अभावलगायतका कारण बीउ अपुग भएको हो ।

राष्ट्रिय बीउ–बिजन कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक धर्मराज अधिकारीले मुख्य खाद्यान्न बालीका लागि वार्षिक १ लाख ९३ हजार टन बीउको माग हुने गरेको बताए । “उन्नत बीउको उत्पादन तथा वितरणका लागि न्यून बजेट हुनु, भण्डारणको अभाव, रोग लागेको बीउको उपचारमा हुने कठिनाइलगायतका कारणले आवश्यकताअनुसारको बीउ उपलब्ध हुन सकेको छैन,” उनले भने “पछिल्लो समय उन्नत बीउको माग बढ्दै गए पनि उत्पादन बढाउन नसक्दा मागअनुसारको वितरण गर्न सकिएको छैन ।” अहिले कम्पनीको कार्यालयमा रहेको विभिन्न बीउ गोदामको भण्डारण क्षमता कुल ८ हजार ७ सय टन मात्र रहेको उनले बताए ।

कृषकले एक पटक उन्नत जातको बीउ लगाएपछि त्यसबाट उत्पादित बालीलाई नै पुनः तीनपटक बीउका रूपमा प्रयोग गर्न सक्छन् । “त्यस अवस्थामा समेत मुलुकमा कुल मागको न्यूनतम एक चौथाइ बीउ आवश्यक पर्छ, उक्त बीउको परिमाण ४८ हजार २ सय ५० टन हुन जान्छ,” प्रबन्ध सञ्चालक अधिकारीले थपे । उनका अनुसार मुलुकमा वार्षिक कम्तीमा पनि २२ हजार टन गहुँ, १६ हजार टन धान, ५ हजार टन मकै, ३ हजार टन दलहन, १ हजार ५ सय टन तेलहनको बीउ आवश्यक पर्छ ।

कम्पनीका बजार व्यवस्थापक रेवतीरमण ओझाले गएको वर्ष विभिन्न बालीका ९ हजार ४ सय ८२ टन बीउ–बिजन बिक्री गरेको बताए । उनका अनुसार अन्य विभिन्न बीउ उत्पादन सहकारी संघ–संस्थालगायतका माध्यमबाट औपचारिक रूपमा करिब १२ हजार टन उपलब्ध हुन्छ । “अहिले वार्षिक करिब २२ हजार टन बीउ उपलब्ध छ,” उनले भने, “अझै झन्डै आधाभन्दा बढी करिब २६ हजार टन बीउ–बिजन अपुग छ ।” खाद्यान्नलगायतका बालीको उत्पादन बढाउन बीउ प्रतिस्थापन दरसमेत बढाउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

किसानले लगातार ४÷५ वर्ष एउटै किसिमको बीउ प्रयोग गर्दा उत्पादकत्वमा ह्रास आउने भएकाले पुरानो बीउ प्रतिस्थापन गरी नयाँ प्रयोग गर्नुपर्ने हुन्छ । मुलुकमा हाल करिब १२ देखि १५ प्रतिशतसम्म मात्र नयाँ उन्नत बीउको प्रतिस्थापन दर रहेको उनको बुझाइ छ ।