झापा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीले कृषिमा आधुनिक प्रविधि, सीप र दक्षता भित्र्याएर आर्थिक विकासमा योगदान दिन सुपर जोनले विशेष भूमिका खेल्ने बताए ।कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आधुनिक ट्याक्टरद्धारा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कृषि विकास मन्त्री गौरीशंकर चौधरी, पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का प्रमूख सचेतक भानुभक्त ढकाल लगायतका वक्ताहरुले कृषिको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण आवश्यक रहेको बताएका थिए ।

एक नम्वर प्रदेशको झापाका पृथ्वीनगर, केचना, बालुबारी, पथरिया, बनियानी र पाठमारी गाविसको हजार हेक्टर क्षेत्रमा आधुनिक तरिकाले धान खेतीको उत्पादन गरिने, स्थानीय बालीको आधुनिक उप्पादनमा सहयोग गर्ने, धान उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको तथा सुपर जोन कार्यक्रमले धानमा आत्मनिर्भरताका लागि महत्वपूर्ण योगदान गर्ने कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले जानकारी दिए ।