इटहरी। पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् ।

अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँमा पनि बिक्न छाडेको छ । गतवर्ष यही समयमा किसानले अदुवाख प्रतिकेजी ५० देखि ७० रुपैयाँमा बिक्री गरेका थिए ।

अहिले विचौलिया व्यापारीले किसानले ल्याएको अदुवा किनिदिन छाडेकाले अदुवा किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको पीडित किसानले बताएका छन् ।

विशेषगरी धनकुटा, सुनसरी, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर जिल्लाबाट किसानले अधिकतम रुपमा धरानको कृषि उपज बजारस्थलसम्म बिक्रीका लागि अदुवा लिएर आउने गरेका छन् ।

यसपटक भने उचित मूल्य नपाएपछि बजारमा भुक्तानी विनै अदुवा छाडेर जान बाध्य भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाबाट प्रतिवर्ष कम्तीमा १० हजार मेट्रिक टन अदुवा बजारस्थलमा आउने र त्यसमध्ये ९० प्रतिशत अदुवा भारत निकासी हुने गरेकामा यस वर्ष अहिलेसम्म भारत निकासी हुनसक्ने स्थिति देखापरेको छैन । रासस