बर्दिवास। महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा भ्यागुते रोगले बस्तुभाउ मर्न थालेपछि पशुपालक किसान चिन्तित भएका छन् । पछिल्लो एकसातामा एकपछि अर्को गरेर बर्दिवास–३ मा १२ वटा भैँसी मरेपछि उनीहरुमा चिन्ता बढेको हो ।

पहिलोपटक बर्दिवास–३ को बारनचौडीमा भैँसी मर्न थालेपछि जानकारलाई सोध्दा भ्यागुते रोग भएको बताइएकोे सम्बद्ध किसानको भनाइ छ ।

घ्यारघ्यार गरेर ¥याल काढ्ने अनी टाउको बङ्ग्याएर सुत्ने बेथाले पछिल्ला सात दिनयता यो बस्तीमा १२ वटा भैँसी मरेका स्थानीय किसान तथा सामाजिक कार्यकर्ता देवनारायण महतोले बताउनुभयो ।हिजोमात्र आफ्नै गोठका दुईवटा भैँसी यस्तै लक्षण देखिने रोगले केही बेरको फरकमा मरेका उहाँको गुनासो थियो ।

बर्दिवाससहितका जिल्लाका उत्तरवर्ती क्षेत्रमा यो रोग बढेपछि किसानमा पिरोलो बढेको छ । बर्दिवास बजारमा पशुसेवा केन्द्र भए पनि नियमित अनुगमन र भ्याक्सिनको व्यवस्था भने हुन नसकेको किसानहरु बताउँछन् । आपूmहरुले नियमित भ्याक्सिनका लागि आग्रह गरे पनि केन्द्रबाट सहयोग पाउन नसकिएको किसान महतोले गुनासो गर्नुभयो ।

यसैबीच जिल्ला पशुसेवा कार्यालयले पशुपालक किसानलाई आ–आफ्नो बस्तीमा पशुपालक कृषक समूहमा सङ्गठित हुन आग्रह गरेको छ । समूहमा भ्याक्सिनलगायत अन्य नियमित पशु स्वास्थ्य जाँच र पोषिलो घाँसको बीउसमेत मौसमअनुसार वितरण गर्दै आएको कार्यालयले जनाएको छ । समूहमा आबद्ध नभएका ठाउँमा पनि सेवा केन्द्र र उपकेन्द्रबाट प्राविधिकहरुले किसानको आग्रहमा पशुुको हेरचाह र उपचार सेवा दिइरहेका कार्यालयले स्पष्ट पारेको छ ।