
कालिकोट। कालिकोटका किसानले हिउँदे तथा बेमौसमी तरकारी खेती लगाउन सुरु गरेका छन् । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारीको खरिद बिक्री राम्रो हुने भएकाले किसानले तरकारी खेती गर्न थालेका हुन् ।
हिउँदको मौसममा किसानले बेमौसमी तरकारीका लागि ग्रिनहाउस निर्माण गरेर धनियाँ, भाजी, भन्टा र भिन्डी, आलुलगायतका तरकारी उत्पादन गर्ने गरेका छन् ।बेमौसमी तरकारीको माग उच्च रहेकाले त्यसलाई धान्नका लागि हिउँदे तथा बेमौसमी तरकारी खेतीमा प्रायः किसान लाग्न थालेको दाहाँ गाविसका अगुवा किसान मिमबहादुर शाहीले बताए । “सडक क्षेत्रमा तरकारीको माग उच्च रहेको छ,” उनले भने, “हिउँदको समयमा तरकारी माग धान्न सकिँदैन ।”
चिसो अत्याधिक हुने भएका कारणले किसानले प्लास्टिकको घर निर्माण गरी तरकारी खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय प्राविधिक परशुराम काफ्लेले बताए ।
“चिसो मौसममा पनि बिरुवालाई अनुकूल वातावरण सिर्जना गरी बेमौसमी तरकारी उत्पादन गर्न किसानले प्लास्टिक घरको प्रयोग गर्ने गरेका छन्,” उनले भने, “मंसिरदेखि फागुनसम्म चिसोबाट बिरुवालाई जोगाउन मध्य पहाडी भागमा प्लास्टिक घरको प्रयोग गरिँदै आएको छ ।”