•रमेश रावल
कालिकोट। कालिकोटको लालु गाविस–९ का दारासिंह बिष्ट मलेसियामा ३ वर्ष रोजगारी गरेर फर्किएपछि तरकारी खेतीतर्फ लागेका छन् । थोरै समयमा धेरै कमाउने आशा पालेर मलेसिया गएका उनी विदेशमा सोचे जस्तो नभएपछि गाउँमा नै आएर तरकारी खेतीमा लागेका हुन् ।
ती वर्ष मलेसियामा बस्दा सन्तोषजनक आम्दानी भएन । अहिले गाउँमै आएर तरकारी खेती गरेपछि विदेशमा गएर कमाउनेभन्दा बढी कमाउन थालेको बिष्टले बताए । “गाउँमा परिवारसँग बसेर मलेसियामा कमाउने जति कमाई नै रहेको छु,” उनले भने, “मौसमी बेमौसमी दुवैखाले तरकारी खेती गरेको छु ।”
विदेशमा गएर जति कमाई भए पनि सन्तोष हुन ठाउँ नभएको उनको भनाइ छ । “गाउँको खेतबारी बाँझो राखेर विदेश गएँ,” उनले भने, “गाउँको बारीमा पनि राम्रो तरिकाले बाली लगाए विदेशको कमाई नेपालमै हुन्छ ।”
गाउँमा ठूलो परिमाण तरकारी उत्पादन गर्ने आफ्नो लक्ष्य भए पनि बजारको समस्या भएको उनले बताए । “नजिकै सडक र बजार भएको भए उत्पादन र आम्दानी दुवै बढ्ने थियो,” उनले भने ।बेमौसमी तरकारी खेतीको राम्रो सम्भावना रहेको लालु गाविसका नजिक सडक र बजार नभएका कारणले किसानले सोचेको जस्तो आम्दानी लिन नसकेको गाविस सचिव नवराज शर्माले बताए । “बेमौसमी र मौसमी तरकारी खेतीका लागि राम्रो सम्भावना छ,” उनले भने ।
तरकारी खेतीको राम्रो सम्भावना देखेपछि गाउँका प्रायः युवा यसतर्फ आकर्षित हुँदै छन् । युवाहरू मिलेर ग्रामिण कृषि सडक बनाउने योजना समेत बनाइरहेका छन् ।