धनगढी । कैलालीमा निर्माणाधिन हुलाकी सडक क्षेत्रलाई लक्षित गरी ‘हुलाकी मार्ग बजार केन्द्रीत एकीकृत दूग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम’ लागू गरिएको छ । पशु उत्पादन निर्देशनालयको पशु विकास सेवा कार्यक्रमअन्तरगत सो कार्यक्रम चालू आवदेखि कार्यान्वयनमा ल्याइएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. डिकरदेव भट्टले जानकारी दिए ।
कार्यक्रम कार्यान्वयनका लागि हुलाकी सडक आसपास बस्ने कृषक समूह, समिति र सहकारीसँग निवेदन माग गरिएको छ । कार्यक्रमअन्तरगत ५० ओटासम्म गाई वा भैँंसी पालेर दूग्ध उत्पादन गर्न चाहने कृषक समूह एवम् सहकारीलाई पशु सेवा कार्यालयमार्फत न्यूनतम रू. १० हजारदेखि बढीमा रू. ३० हजारसम्मको अनुदानको व्यवस्था गरिएको छ ।कार्यक्रम कार्यान्वयनका लागि चालू आवमा रू. ८१ लाख बजेट विनियोजन गरिएको छ ।
उत्पादित दूध सङ्कलन गरी डेरी व्यवसाय गर्न चाहनेलाई समेत अनुदानको व्यवस्था गरिएको छ । जिल्लामा पशुको दूध उत्पादनको परिमाण वर्षेनि बढ्दै गए पनि राष्ट्रिय लक्ष्य भने भेटाउन सकेको छैन । प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध पुग्नुपर्ने राष्ट्रिय लक्ष्य रहेकामा कैलालीमा करीब ७४ लिटर दूधको परिपूर्ति मात्र भएको कार्यालयले बताएको छ ।