लमजुङ । सुन्दरबजार–६, घर्तीटोलका गोपाल घर्तीलाई अहिले खाना खाने फुर्सदसमेत छैन । बिहानैबाट बेलुकीसम्म उहाँ खेतबारी जोत्नमै व्यस्त हुनुहुन्छ । बिहानैबाट खेतबारीमा हाते ट्रयाक्टर पुर्याएर खेतबारी जोत्ने कामले उहाँलाई फुर्सद छैन । खेतबारी जोत्ने हाते ट्रयाक्टर साथमा भएसँगै उहाँको व्यस्तता बढेको हो । व्यस्तता बढेसँगै आम्दानी पनि राम्रै भएको छ । उहाँलाई फोनबाटै पहिले नै आग्रह गरिएको हुन्छ, ‘गोपाल, आज हाम्रोमा ट्रयाक्टर ल्याइदिुनपर्यो, खेतबारी जोतिदिनुपर्यो ।’
‘समय मिलाउनै सकेको छैन, धेरैले एकैचोटी ट्रयाक्टरको माग गर्छन्,’ उहाँले भन्नुभयो, ‘बिहानैबाट यसै काममा व्यस्त रहन्छु, एउटाको काम सक्ने बित्तिक्कै अर्कोकोमा पुग्छ, समय मिलाएर बोलाएजत्तिको काम गरेकै छु ।’ उहाँ खेतबारी जोत्न हाते ट्रयाक्टर लिएर सुन्दरबजार, फेदीकुना लगायतका विभिन्न फाँटमा पुग्नुुहुन्छ ।पैसा कमाउन भन्दै गोपाल विगतमा साउदी भासिनुभयो । उहाँले खाडीमा दुई दशक बढी समय बिताउनुभयो । तर दुःख गरे अनुसारको गतिलो कमाइ भएन । ‘२० वर्षसम्म खाडीमा बसियो, आम्दानी खासै राम्रो भएन’ उहाँले सुनाउनुभयो । विदेश नफापेपछि उहाँ आफ्नै गाउँ फर्कनुभयो । घरपरिवार पाल्ने जिम्मेवारीबाट उम्कनुको कुनै विकल्प थिएन, गोपाललाई । त्यसपछि, स्वदेशमै केही गर्नुपर्छ भन्दै उहाँले ७५ हजारको व्यक्तिगत लगानीमा अरुले प्रयोग गर्दै आएको खेतबारी जोत्ने हाते ट्रयाक्टर किन्नुभयो । ट्रयाक्टर किनेपछि उहाँलाई खेतबारी जोत्न बोलाउनेको संख्या बढ्दै गयो । ट्रयाक्टर किनेपछि काममा धेरैले पत्याउन थालेको उहाँको अनुभव छ । ‘ट्रयाक्टर किनेपछि सिजनमा त कामले गर्दा खाना खाने फुर्सद पनि हुँदैन,’ साँझबोटे फाँटमा जोत्दै गरेको ट्रयाक्टर रोकेरै उहाँले सुनाउनुभयो, ‘अहिले खेतबारी जोतेरै मासिक डेढ लाख बढि आम्दानी भएको छ ।’ उहाँले प्रतिघण्टा १ हजार २ सय रुपैयाँका दरले किसानका खेतबारी खनजोत गर्नुहुन्छ । हाते ट्रयाक्टरबाटै विदेशको भन्दा राम्रो कमाई स्वदेशमै भएपछि उहाँको मन फुरुङ्ग छ । उहाँका अनुसार खेतीको सिजन मानिने जेठ, असार, साउन, असोज कात्तिक मंसिरमा खेतबारी खनजोतका लागि हाते ट्रयाक्टरको माग बढी हुन्छ । गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएकाले खनजोतका लागि हाते ट्रयाक्टरमै किसानहरुको आकर्षण बढेको पनि उहाँले बताउनुभयो । ‘बर्खे खेती होस् या हिउँदे खेती लगाउँदा होस् खनजोतका लागि किसानले हाते ट्रयाक्टर नै रुचाउँछन्’ उहाँले थप्नुभयो, ‘हाते ट्रयाक्टरले जोत्दा माटो मसिनो हुन्छ, छेउकुना जोतिएको हुन्छ र डल्ला पनि आउँदैन ।’
गोरु छाडेर आधुनिक हाते ट्रयाक्टरतर्फ किसान
पहाडी जिल्ला लमजुङमा यत्तिबेला कोही कृषकहरु धान काट्न, कुन्यु लगाउन र दाइँ हाल्नमै व्यस्त छन् । कोही भने खेती थन्क्याएर हिउँदे खेती लगाउने सुरमा जुटिसकेका छन् । विगतका वर्षहरुमा खेतबारी खनजोतका लागि गोरुकै भर पर्ने लमजुङका किसान अहिले पनि आधुनिक हाते ट्रयाक्टरतर्फ तानिएका छन् । गाउँमा हली र गोरु नपाइने भएकाले पनि किसानहरु ट्रयाक्टरतर्फ आकर्षित भएका हुन् ।
‘हलीगोरु पाउन पनि गाह्रो, खर्च पनि धेरै हुने,’ सुन्दरबजार–६ अन्नपूर्ण टोलकी मिरा पौडेलले भन्नुभयो, ‘काम छिटो हुने, माटो राम्रो हुने, खर्च पनि कम लाग्ने । त्यसैले मलाई त खनजोतका लागि ट्रयाक्टर नै ठीक लाग्छ ।’ चलनचल्ती अनुसार यहाँ हलीगोरुको दैनिक ज्याला १६ सय रुपैयाँ छ । ‘एक रोपनी खेत जोत्न गोरुलाई दिनैभरी लाग्छ, १६ सय बढी खर्च हुन्छ,’ सुन्दरबजार–४ फेदीकुनाका प्रकाश डौलियाले भन्नुभयो, ‘एक रोपनी खेत हाते ट्रयाक्टरले एक घण्टामै जोतेर भ्याइदिन्छ । १२ सय रुपैयाँ खर्च गरे पुग्छ ।’
उहाँका अनुसार हाते ट्रयाक्टरले नै खेतबारी खनजोत गर्दा फाइदा हुन्छ । समय र पैसाको बचत हुन्छ । उत्पादन पनि राम्रो हुन्छ । लमजुङका बेँसीशहर, उदिपुर, सुन्दरबजार, भोटेओडार, पाउँदी, धमिलिकुवा, र भोर्लेटार लगायतका किसानहरु खनजोतका लागि हाते ट्रयाक्टरतर्फ आकर्षित भएका छन् । ‘थोरै लागतमा, कम समयमै खेती गर्न सकिने भएकाले पनि किसान आधुनिक कृषि उपकरणको प्रयोगतर्फ तानिएका छन्,’ कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले भन्नुभयो ।