काठमाडौं। भारतमा निर्यात हुँदै आएको अदुवामा भारत सरकारले रोक लगाएपछि नेपाली अदुवा व्यापारी मर्कामा परेका छन् । भारतले नेपालमा उत्पादन भएको अदुवामा एल्डी कार्ब भन्ने विषादी प्रयोग गरेको कारण देखाइ आयातमा रोक लगाएको बताइन्छ । सङ्घबाट भारतको बैङ्गलोरकै खाद्य परीक्षण शाखामा परीक्षण गराइँदा उक्त विषादी नभएको पुष्टि भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल अदुवा उत्पादक सङ्घका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।
त्यस्तै, अदुवा निर्यातमा भारतीय प्रशासनले शुरु गरेको झञ्झटिलो प्रक्रिया, चर्को क्वारेण्टाइन शुल्क, दोहोरो करको समस्याका कारण नेपाली अदुवा व्यापारी प्रभावित भएको सङ्घको भनाइ छ । ती समस्या समाधान गर्न पहल गर्न सङ्घले नेपाल सरकारलाई आग्रह गरेको छ ।