काठमाडौं । विश्व बैङ्कको ३१ करोड ७४ लाख ९२ हजार ८ सय ३२ रुपैयाँको लागतमा आगामी १३ महीनाभित्र कीर्तिपुर नगरपालिका–१४ मा फलफूल र फूल सङ्कलन केन्द्र निर्माण गरिने भएको छ । केन्द्रमा ३० मेट्रिक टन क्षमताको धर्मकाँटा, एउटा फलफूल पकाउने र अर्का चिस्यान कक्ष, सूचना कक्ष, प्रयोगशालालगायत रहनेछ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको स्वामित्वामा रहेको करीब २५ रोपनी जग्गामा उक्त केन्द्र निर्माण हुन लागेको हो ।
पहिले कृषि चुन उद्योग रहेको उक्त जमीन केही वर्षपहिले कालीमाटी फलफूल तथा तरकारी विकास समितिले खरीद गरेको थियो । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को आयोजनामा भएको कार्यक्रममा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले प्रस्तावित भवन शिलान्यास गरेका छन् । उनले थोक विक्री केन्द्रका रूपमा निर्माण हुन गइरहेको सो प्रस्तावित भवन निर्माणले साना तथा मझौला किसान लाभान्वित हुने बताएका छन् । केन्द्र निर्माण कार्यको जिम्मेवार निकाय महादेव खिम्ती समसुजामुन र क्लिन डेभलपमेण्ट कन्सल्टेण्ट प्रालिले लिएको छ ।