पर्वत । पर्वत जिल्लामा धौलागिरीकै पहिलो माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधियुक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत, बाग्लुङ र म्याग्दी जिल्लालाई लक्षित गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निर्माण गरिएको हो ।
प्रयोगशाला नहुँदा यस अघि पोखरामा रहेको क्षेत्रीय माटो प्रयोगशालाबाट प्राविधिक र विज्ञहरु बोलाएर विभिन्न गाउँमा शिविर सञ्चालन गर्नुपर्ने अवस्था रहेको थियो । अब भने जिल्लाका जुनसुकै क्षेत्रका कृषकले पनि सहज रुपमा कार्यालयमै आएर माटो परीक्षण गर्न पाउने भएका छन् ।
बाहिरवाट प्राविधिक बोलाएर शिविर सञ्चालन गरेर माटो जाँच गर्दापनि त्यति प्रभावकारी बन्न सकेको थिएन अब जिल्लामै सञ्चालन भएपनि कृषकहरु बढी मात्रामा लाभान्वित हुने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । प्रयोगशालाका लागि आवश्यक जनशक्ति समेत तयार भैसकेको छ । ‘कम बजेटमा सवै कृषकहरुलाई सेवा दिने उद्धेश्यले जिल्लामै प्रयोगशाला स्थापना गरेका हौं ।’ कार्यालयका प्राविधिक रामकृष्ण अर्यालले भने, ‘सदरमुकामसम्म आउन असहज हुने गाविसका बासिन्दाहरुलाई स्थानीयस्तरमै पुगेर पनि जाँच गर्न सक्नेछौ । वर्षको एक पटक नियमित रुपमा माटो परीक्षण गर्न सकेमा खेतवारीको उत्पादकत्वमा वृद्धि गर्न सकिने र माटोको उपचार पनि गर्न सकिने अर्यालले जानकारी दिए ।
प्रयोगशालामा रहने न्यनूतम पूर्वाधार निर्माणका लागि पाँच लाख गत वर्ष विनियोजित भए अनुसार काम अगाडी बढाइएको कार्यालयले बताएको छ । कार्यालयका प्रमुख रेग्मीले जिल्लाका खेतीयोग्य जमिन र स्थानीय कृषकहरुलाई आफ्नो जमिनको अवस्था र उत्पादन हुने खाद्यान्नको पहिचान गराउन प्रयोगशाला उपयोगी हुने बताए ।
रेग्मीले निर्माणधिन प्रयोगशालाबाट माटोमा हुने नाइट्रोजन, फस्फोरस, पोटास र पियुसको जाँच हुने बताए । पर्वतमा विभिन्न शिवीरको आयोजना गराएर माटोको जाँच हुँदै आएकोमा यस वर्षदेखि जिल्लामा नै दैनिक रुपमा माटोको जाँच गराईने उनले बताए । कार्तिक महीनाभित्र माटो परीक्षण सेवा सञ्चालन गर्ने भनिएता पनि प्राविधिक कारणले गर्दा सम्भव नभएको कार्यालयको तर्क छ । जिल्लामानै माटो परीक्षण सेवा सञ्चालन भए जिल्लाबाहिर माटो परीक्षणको लागि जानुपर्ने बाध्यता टर्नेछ ।