ताप्लेजुङ । ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा सात प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त बर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्ष भन्दा सात प्रतिशतले बृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
धान लगाउन असार साउनको समयमा प¥याप्त पानी परेकोले जिल्लाका कृषकहरुले धेरै स्थानमा धान खेती गरेकाले यस वर्ष जिल्लामा १८ हजार ५ सय ५५ मेट्रिक्टन धान उत्पादन हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका योजना अधिकृत किसुन देव यादबले बताए । यो वर्ष ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती गरीएको उनको भनाई छ ।
अघिल्लो वर्षहरुमा धान रोप्ने समयमा पानी नपर्दा थोरै क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको थियो भने असिना र रोग किराको संक्रमण पनि बढि हुने हुँदा धान उत्पादनमा कमि आउने गरेकोमा यो वर्ष यस्तो समस्या नभएको यादबको भनाइ छ ।
गत वर्ष बाढी पहिरोका कारण धान बालिमा क्षति पुर्याएका कारण धान उत्पादनमा कमी आएको थियो । यस वर्ष धान उत्पादनमा बद्धि भए पनि जिल्लामानै उत्पादित धानले जिल्लाको मागलाई भने धान्न नसक्ने कार्यालयको भनाइ रहेको छ ।
ताप्लेजुङ हिमाली जिल्ला भएको र सबै क्षेत्रमा धान खेती नहुँने हुँदा यस वर्ष पनि करीव पाँच मेट्रिक्टन धान आयत गर्नुपर्ने सम्भावना रहेको योजना अधिकृत यादबको भनाइ छ ।ताप्लेजुङको नगरपालिकासहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्पाङ, चाँगे, खोक्लिङ, फुलबारी, सिनाम, हाङ्देवा, फुरुम्बु लगायत गाविसलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिदै आएको छ ।
यी क्षेत्रमा उत्पादित धानले जिल्लाको साठी प्रतिशत माग धान्दै आएको छ । अन्य गाविसमा पनि केहि प्रतिसत धान उत्पादन हुने भए पनि पछिल्लो समय अलैचि खेतिबाट राम्रो आम्दानि हुने देखेका कृषकले धान खेती मासेर अलैचि खेति गर्दै आएका छन् ।