कावासोती।आर्थिक आम्दानीका लागि धेरै पढ्ने र जागिर खानेजस्ता योजना धेरैले बुनेका हुन्छन्। पढाई पूरा भएपछि राम्रो जागिर पाउन नसक्दा गाउँको खेतीपाती र कुटोकोदालोबाट मुक्ति पाउन वैदेशिक रोजगारीलाई अन्तिम उपायका रुपमा प्रयोग गर्ने युवाहरुको संख्या दिनहुँ आकाँशिदै छ। तर, यहि गाउँघरको कुटोकोदालोलाई सारथी बनाएर मनग्य आम्दानी गर्ने उदाहरणीय युवा हुन्, नवलपरासी देउराली-४ का थमन रजाली मगर।
मगर हिजोआज आफ्नो तरकारी खेतीमा निक्कै व्यस्त छन्। उनले थमन आर्गनिक एग्रीकल्चर फर्म सुरु गरेका छन्। वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट स्नातक पास गरेका मगरले सानोतिनो जागिर पनि नगरेका होइनन्। जागिरबाट प्राप्त आम्दानीले आफ्नो पेट पाल्न पनि धौधौ भएपछि कृषि कर्ममा लागे। उनले भने- “अहिले राम्रो आम्दानी छ, परिवारसँगै बसेर काम गर्न पाउँदा छुट्टै रमाइलो हुँदोरहेछ।”
मगरले डेढ बिगाहा जग्गामा तरकारी खेती गरेको ५ बर्ष भयो। व्यवसायिक तरकारी खेतीबाट आएको आम्दानीले उनलाई परिवार पाल्न मज्जाले पुगेको छ। स्वदेशमा कुनै सम्भावना नदेखेर कृषि तथा अन्य कार्यको लागि विदेशिने युवाहरुको बारेमा बोल्दै उनी भन्छन- “हामी हिरामा बसेर सुन खोज्छौँ अनि कसरी हुन्छ विकास?”
सुरुमा वार्षिक ८ देखि १० लाखसम्म आम्दानी गरेका मगरले हाल वार्षिक १८ देखि २० लाखसम्म फाइदा कमाउँछन्। मगरले भने- “जागिर गर्दाको समयमा बालबच्चालाई दिने ५ रुपैँया पनि गोजीमा हुदैनथ्यो आज लाखौको कारोबार गरिन्छ।”
मगरले आफ्नो तरकारी नारायणगढदेखि काठमाडौँसम्म पुर्याउँछन्। आफूले उत्पादन गरेको तरकारी धेरैले मन पराउने भएका कारण भनेजस्तै मूल्य पाउने गरेको उनले बताए। यस क्षेत्रका कृषिका चुनौतीहरुलाई औल्याउदै अबको समयमा कृषि पेशालाई व्यवसायिक बनाउन प्रविधिको विकासमा जोड दिनुपर्ने उनको धारणा छ।