
कास्की। कास्कीमा क्रियाशील तीन किसानले राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार प्राप्त गरेका छन् । टनेलमा खेती गर्दै आएका भलामका रामबहादुर हमाल, भैंसीपालक हेम्जाका घनश्याम तिमिल्सिना र सुन्तला कृषक कृस्तीका खिमलाल सुवेदी पुरस्कृत भएका हुन् ।
विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उनीहरुलाई जनही १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरे ।
कृषि क्षेत्रमा मुलुकमा पर्याप्त सम्भावना भए पनि युवाहरु खाडी मुलुकमा गएर दुख पाउनु परेको भन्दै मैनालीले अब स्वदेशमै युवालाई रोक्न सक्नुपर्ने बताए । जिल्ला कृषि विकास कार्यालय कास्की प्रमुख वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले कृषकलाई प्रोत्साहन गर्न ३ वर्ष यता सरकारले पुरस्कारको व्यवस्था गरेको बताए ।व्यवसायिक खेतीका लागि बैंकहरुले लगानी बढाउन थालेको, सरकारले अनुदानको व्यवस्था गरेको भन्दै बोहोराले अब खाद्यान्नमा परनिर्भर हुने हैन कि निर्यात गर्न सक्ने बन्नुपर्नेमा जोड दिए ।
पुरस्कृत कृषकहरुले किसानलाई अझै पनि हेपाहा हिसावले हेरिने गरेको भन्दै यसमा परिवर्तमा आउनुपर्ने बताए । विदेश पुगेर ठक्कर खाएपछि मात्र युवाहरु स्वदेशमै स्वरोजगारमा लाग्न थालेको भन्दै उनीहरुले सिपमूलक तालिमको व्यवस्था र कृषिलाई व्यवसायिक बनाउन खालको नीति आवश्यक रहेको बताए ।