तेह्रथुम। तेह्रथुमकोे लालीगुराँस नगरपालिका–३, मुसाङखेलका किसान गाईभैँसी पालेरै आत्मनिर्भर बन्न थालेका छन् । यहाँका अधिकांश किसानको दैनिकी गाईभँैसीको स्याहारसुसारमै बित्ने गरेको छ ।
किसानले गाउँमा मुसाङ्खेल दुग्ध उत्पादक सहकारी संस्था खोलेर आत्मनिर्भरको बाटो रोजेका हुन् । यो सहकारीमा मात्रै वार्षिक १ लाख ६५ हजार लिटरसम्म दूध संकलन हुने गर्दछ । सहकारीले सञ्चालन गरेको दुग्ध संकलन केन्द्रमा दैनिक ४ सयदेखि ५ सय लिटरसम्म दूध संकलन हुने गरेको छ ।
झण्डै १ सय २० घरधुरी किसानले यो संकलन केन्द्रमा दूध जम्मा गर्दै आएका छन् । सहकारीमार्फत ऋण लिई परम्परागत पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक उन्नति गर्न सकिने बुझेपछि उनीहरुले दूध बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । अहिले यहाँका धेरै किसानको मुख्य आयको श्रोत नै दूध बनेको छ ।विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर गाईपालनमा लागेका छन् । यसअघि दुई पटकसम्म विदेश गएर फर्किएका इन्द्रप्रसाद दाहालले अहिले व्यावसायिक गाईपालन गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ ‘सहकारीको सहयोग पाएपछि विदेश जाने सोच नै हरायो, विदेशमा पनि परिश्रम नै गर्नुपर्छ, त्यही परिश्रम स्वदेशमा गर्ने हो भने मनग्य आम्दानी हुन्छ ।’ दाहालले दैनिक २० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।
सहकारीले संकलन केन्द्रमा संकलन गरेको दूध धनकुटाको जोरपाटीस्थित दुग्ध चिस्यान केन्द्रमा निर्यात गर्ने गर्दै आएको छ । अहिले सहकारी आफ्नै लगानीमा चिस्यान केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।