पाल्पा। खानीछाप गाविस–३ का महिलाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।
स्थानीय मीनु दर्लामीले दुई वर्षको अवधिमा सातवटा खसीबोका बिक्री गरेर रु दुई लाख आम्दानी गर्नुभयो । त्यही रकमले अहिले उहाँले घरखर्च चलाउँदै आउनुभएको छ ।
दर्लामी मात्र होइन, यहाँका अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दैआउनुभएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो रु ३१० देखि रु ३६० सम्म पर्छ । खानीछाप गाविसबाट पछिल्लो अठार महिनाको अवधिमा दुईसय २० खसीबोका बिक्री गरिएको खानीछाप महिला उद्यमी सहकारी संस्थाकी अध्यक्ष मीनु दर्लामीले बताउनुभयो ।
सहकारीले महिलालाई बाख्रापलान गर्न ऋण प्रदान र खसीबोकाको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ । यहाँका महिलाले वार्षिक रु एक लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थालेका बताइएको छ ।