सोलुखुम्बु । चिया व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको भकान्जेमा बिहीवार पहिलोपटक चिया महोत्सव आयोजना गरिएको छ ।
डेनमार्कको एसिटी पर्च कम्पनी, हिमालयन प्रोजेक्ट डेनमार्क, हिमालयन प्रोजेक्ट नेपाल तथा सगरमाथा जैविक चिया प्रशोधन सहकारी भकान्जेको संयुक्त आयोजनामा सो महोत्सव आयोजना गरिएको हो ।
भकान्जेमा उत्पादन गरिएको जैविक चियालाई युरोपको बजारसम्म विस्तार गर्न महोत्सव गरिएको हिमालयन प्रोजेक्ट नेपालका निर्देशक नाम्गेल जाङ्बु शेर्पाले बताए । महोत्सवमा युरोपका बजारमा निर्यात हुने चियाको गुणस्तरका सम्बन्धमा कृषकलाई तथा भकान्जेमा उत्पादन हुने चियाको गुणस्तरका सम्बन्धमा एसी टी पर्चका व्यक्तिलाई जानकारी गराइएको छ । तीन वर्ष अगाडिदेखि खेती शुरु गरिएको चियाको गुणस्तर मापन गर्न डेनमार्क र नेपालका विज्ञको टोलीसमेत महोत्सवका क्रममा भकाञ्जेमा पुगेको छ ।
महोत्सवमा उत्कृष्ट चिया उत्पादकका रुपमा कृषक आङ्डोल्मा शेर्पालाई पुरस्कृत गरिएको छ । ६५ जना सहभागी महोत्सवमा प्रथम भएकी शेर्पालाई रू. १० हजार नगदसहित पुरस्कृत गरिएको शेर्पाले जानकारी दिए । त्यस्तै, महोत्सवमा द्वितीय हुने आङ्दावा शेर्पालाई रू. छ हजार र तृतीय हुने जाङ्मु शेर्पालाई रू. तीन हजार नगद प्रदान गरिएका छन् ।