लमजुङ। तरकारीबालीमा झुसिलकिराको प्रकोप बढ्न थालेपछि लमजुङका किसानहरु चिन्तित बनेका छन् । खेतबारीमा लगाइएका साग, काउली, बन्दा भटमासलगायतका तरकारीबाली झुसिलकिराले सखाप पारेपछि किसान चिन्तित बनेका हुन् ।
लमजुङको सुन्दरबजार, फेदीकुना, भोटेओडार, दुराडाँडाँ, परेवाडाँडाँ, तार्कुु, कुन्छा, गाउँसहर, अर्चलबोटलगायतका ठाउँमा लगाएको तरकारीबालीमा झुसिलकिराले नोक्सानी पुर्याएको किसानले बताएकाछन् ।
एक रोपनी पाखोबारीमा लगाएको मास झुसिलकिराले सखापै पारेको फेदीकुनाका रामहरि भट्टराईले बताउनुभयो । ‘यसवर्ष धान राम्रो फलेको छ,’ उहाँले भन्नुभयो, ‘तर खेतबारीमा लगाइएको भटमासमा फूल खेल्ने बेला देखिनै झुसिलकिराले सतायो । यसपाली एक पाथी भटमास पनि नआउने छाँट छ ।’ उहाँका अनुसार झुसिलकिराले भटमासको फूल, पात खाएको छ । पात छियाछिाया पारेको छ । अलिअलि लागेको फल पनि किराले खाएको छ ।विगतमा एक रोपनी पाखो बारीबाट एक मुरी मास उत्पादन भएकोमा यसवर्ष झुसिलकिराका कारण एक पाथी मास पनि घर भित्रिने अवस्था नरहेको अर्का किसान हरि भुजेलले बताउनुभयो । उहाँका अनुसार झुसिलकिराका कारण भटमासको बोट मरेका छन् ।
महँगो बिउ किनेर लगाइएको खेती झुसिलकिराका कारण सखापै परेको सुन्दरबजार कुमालटारकी ७३ वर्षे विष्णुमाया पौडेलले गुनासो गर्नुभयो ।