
म्याग्दी । म्याग्दीको कुहुँ–१ खानीगाउँका स्थानीयले चन्दा सङ्कलन गरेर गाउँमा सडक पुर्याएका छन् ।कृषि र पशुपालनमा प्रशस्त सम्भावना भएको खानीगाउँमा सडक नपुगेका कारण आफ्नो उत्पादनले बजार नपाउनुका साथै असुविधा भएपछि स्थानीयले चन्दा सङ्कलन गरेर करीब ८ लाखको लगानीमा ३ किलोमीटर सडक विस्तार गरेका छन् । कात्तिक दास्रो हप्तादेखि गाउँसम्म यातायातका साधनहरु पुग्न थालेपछि स्थानीय हर्षित भएका छन् ।
सडकको असुविधाका कारण सास्ती खेप्नुपरेका खानीगाउँका कृषकले यसवर्ष सडक विस्तारसँगै गाउँका कृषिजन्य वस्तुहरू गाउँबाटै बजारमा लैजान पाउने भएपछि उत्साहित भएका छन् । ‘गाउँमा सडक पुगेपछि व्यावसायिक कृषिखेतीमा लागेका सबै उत्साहित छन् । केहीवर्ष भित्र कृषिमा पकेटक्षेत्र बनाउने अभियानमा छौ’ स्थानीय यूवा याम बुढाथोकी भने ।
खानीगाउँमा पशुपालन, सुन्तला, बेसार, केरा लगाएतक कृषिजन्य उत्पादन हुने गरेकोे स्थानीय बुद्धि सापकोटाले बताए । ‘सुन्ताला र केराखेतीका लागि धेरे राम्रो छ । गाउँका सबैजसो घर आकर्षित छन्’ सापकोटाले भने । २५ घरधुरी रहेको खानीगाउँमा प्रत्येक घरधुरीमा २५ देखि ५० ओटासम्म सुन्तलाका बोट रहेका छन् । गाउँमा किवी, लिची, अनारका विरुवा समेत विस्तार गरिएको छ । गाउँमा आवश्यक पर्ने सिँचाईको सुविधा समेत रहेको छ ।
शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएत आधारभुत आवश्यकतामा राज्यको लगानी अन्य गाउँको तुलनामा न्यून भएको भन्दै राजनीतिक दल, जिविस, सांसद लगायत सरोकारवाला निकायलाई गाउँको विकासमा ध्यान दिन स्थानीयले माग समेत गरेका छन् । कृषिमा आकर्षित भएका खानीगाउँबासीले यसवर्ष देउसीभैलो खेलेर सङ्कलन गरेको १ लाख १९ हजार समेत सडक मर्मत तथा स्तरउन्नतिमा खर्च गर्ने घोषणा गरेका थिए ।