म्याग्दी । स्वादिष्ट स्याउको राजधानी नामले प्रसिद्धी कमाएको मुस्ताङको मार्फाका बासिन्दाले स्याउबाट जुस उत्पादन गर्न शुरू गरेका छन् । घरेलु प्रविधिबाट रसायनको प्रयोग नगरीकन उत्पादन गरिएको जुसको बजारमा राम्रो सम्भावना भएकाले कृषकहरू उत्साहित भएका हुन् । जर्मनीको म्युनिकस्थित टेक्निकल युनिभर्सिटीका प्रोफेसर बुल्म बेथले जुस बनाउन प्राविधिक सहयोग गरेपछि मार्फावासी जुस बनाउन थालेका हुन् ।
१ सय केजी स्याउबाट ६ सय पचास एमएलका करीब १ सय बोतल जुस उत्पादन हुने जर्मन नागरिक बेथले जानकारी दिए । प्रतिबोतल १ सय ६० रुपैयाँमा विक्री गरिने फ्रेस एप्पल जुस यस वर्ष मार्फामा करीब १७ हजार बोतल उत्पादन हुने अनुमान गरिएको स्थानीय कृषक लालप्रसाद हिराचनले बताए ।