पर्वत । वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका पर्वत वहाकी ६ का ऋखिराम भुषाल सोचेजस्तो आम्दानी नभएपछि स्वदेश फर्किए । विदेशमा कडा मेहनत गर्दा पनि सोचेजति आम्दानी नभएपछि उनी गाउँमै फर्किए ।
विदेशमा श्रम गर्नुपर्छ भन्ने सिकेर आएका भुषालले अहिले गाउँमै तरकारी खेती गरी वार्षिक चार तीन लाख आम्दानी गर्न सफल भएका छन् । ३६ वर्षीय भुषाल अहिले बिहानैदेखि सात आफ्नो तरकारी खेतीमा व्यस्त रहेका छन् । उनले गाउँमै सात रोपनी क्षेत्रफलमा टनेल हाली गोलभेँडा, काउली, बन्दागोभी, रायो, मुला, काँक्रो, लौका, खुर्सानी, करेला, आलुलगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । ‘वार्षिक रू. चार लाख आम्दानी हुन्छ’, उनले भने – ‘अहिलेसम्म तरकारी खेतीका लागि रू. १० लाखसम्म लगानी गरिसकेँ ।’ घरायसी धन्दा चलाउन आर्थिक समस्या आएपछि उनी तरकारी खेतीमा सक्रिय बनेका हुन् । अहिले उनी ग्रामीण कृषि कार्यकर्ता सञ्जालको केन्द्रीय अध्यक्ष पदमा रहेका छन् ।
राजनीति र विदेश दुवै भोगेका भुषालले वहाकी र शालिग्राम गाविसमा कृषिको पकेट क्षेत्र बनाएर तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी गरेको बताए । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि त्यहाँका स्थानीय समेत आकर्षित हुन थालेका छन् ।