पर्वत । कृषिमा यान्त्रिकरण बढेसँगै पर्वतमा जिल्ला कृषि विकास कार्यालयले मिनि थ्रेसर भित्र्याएको छ । धान र गहुँ झार्न प्रयोग हुने थ्रेसर परिक्षण स्वरुप ल्याएको कार्यालयले बताएको छ । शुरुमा कार्यालयले पाँचओटा थ्रेसर ल्याएकोमा दुईओटा कुश्मा नगरपालिका १२ चुवा र खानीगाउँका कृषकहरुले लगिसकेको कार्यालयले बताएको छ । प्रतिथ्रेसर ९० हजारको लागतमा ल्याइएका थ्रेसरमा कार्यालयले ढुवानी खर्चबाहेक ५० प्रतिशत अनुदानको व्यवस्था गरेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।
‘कृषकको मागअनुसार समूह वा समूहले सिफारिस गरेको व्यक्तिलाई समेत थ्रेसर दिन सकिन्छ,’ रेग्मीले भने, ‘थ्रेसर मेशिनबाट किसानको परिश्रमको बचत हुनुका साथै लागत न्यूनीकरण हुन्छ ।’ कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरणका लागि पनि यसले सहयोग पु¥याउने रेग्मीको अपेक्षा रहेको छ ।
कार्यालयमा ल्याईएका थ्रेसर सात हर्जपावर क्षमताका हुन् । पेट्रोलबाट चल्ने यी थ्रेसर मोटर बाटो पुगेका भेगमा सजिलै लैजान सकिने कार्यालयका प्राविधिक सहायक रामकृष्ण अर्यालले बताए । खेतबारीमै थ्रेसर मेशिन पुग्न थालेपछि किसानलाई राहत हुनुका साथै ग्रामीण अर्थतन्त्रलाई सवल बनाउने जिल्ला कृषि विकास कार्यालय पर्वतले बताएको छ । थ्रेसर मेशिनको प्रयोगबाट जनशक्ति कम भएका ग्रामीण क्षेत्रमा श्रमशक्तिको परिपूर्ति गर्ने कार्यालयले बताएको छ । यसले धान तथा गहुँबाट दाना र पराल तथा नललाई छुट्याउने काम गर्दछ । परम्परागत रुपमा खेताला हालेर धान तथा गहुँ झाँट्नुपर्ने बाध्यतालाई यसले हटाउने गर्दछ ।
प्रतिघण्टा १५ मुरी धान तथा गहुँ झाँट्न सकिने कार्यालय प्रमुख रेग्मीले बताए । एउटा थ्रेसरले एक घण्टामा १३ रोपनीसम्मको गहुँ झार्ने क्षमता राख्छ । पहिले पहिले धेरै परिश्रम र लगानी गरेर झार्नु पर्ने धानलाई अहिले थे्रसरले थोरै समय र कम परिश्रममै धेरै धान झार्ने गरेपछि प्रायः किसानहरुलाई राहत हुने कार्यालयले अनुमान गरेको छ ।
यसभन्दा अघिल्लो आर्थिक वर्षदेखि कार्यालयले कृषकहरुलाई अनुदानमा यान्त्रिक हलो वितरण गरेको थियो । हलोको माग उच्च भएपछि अघिल्लो वर्ष २१ ओटा वितरण गरिएतापनि यस वर्ष ४० ओटासम्म हलो कृषकलाई अनुदानमा वितरण गरिने कार्यालयले बताएको छ ।