म्याग्दी । खेतवारी जोत्ने गोरुको अभाव हुन थालेपछि म्याग्दीका गाउँ÷ गाउँमा हाते ट्रयाक्टरबाट खेत जोत्न शुरु गरिएको छ । वैदेशिक रोजगारीका कारण गाउँमा काम गर्ने यूवाहरु कम भएको र गाउँमा गोरु पाल्न छाडेपछि गोरुको अभाव भएकाले हाते ट्रयाक्टरको माध्यमबाट खेतवारी जोत्न थालिएको कृषकहरुले बताएका छन् ।
पहिला गोरुबाट खेती गर्ने गरेकामा अहिले व्यापारीहरुले गाउँमा नै हाते ट्रयाक्टर ल्याएपछि किसानहरुले पाँच दिन लाग्ने खेत पाँच घण्टामा जोत्न पाएका छन् । नयाँ ÷नयाँ प्रविधिसँगै खेत जोत्ने हाते ट्रयाक्टर जिल्लामा भित्रिएपछि आफूहरुलाई हलो जोत्ने र गोरु खोज्न नपर्ने र सहज भएको बगरफाँटका कृषक नेत्रवहादुर कार्कीले बताए । ५०–६० हजार रुपैयाँमा हाते ट्रयाक्टरनै पाइने भएकाले खर्च समेत बच्ने भएकाले हाते ट्रयाक्टरको सहायताले खेत जोत्न थालेको कृषकहरु बताउँछन् । अहिले प्रतिदिन एक हल गोरु, हलो जोत्ने व्यक्तिलाई एकहजार भन्दा बढी ज्याला दिनु पर्छ । घरमै गोरु पाल्न जनशक्तिको अभाव हुने र खर्च समेत बढी हुने भएकाले कृषकहरु गोरु पाल्न छाडेर ट्रयाक्टरनै किन्न थालेका छन् ।
धान, कोदोको खेती भित्र्याइसकेपछि अहिले बेनी नगरपालिका लगायत जिल्लाका विभिन्न ठाउँमा हाते ट्रयाक्टरबाट खेती गर्न थालेका छन् । जिल्लामा हाते ट्रयाक्टर भित्राएपछि किसानहरु समेत सुखी भएका छन् । ट्रयाक्टर ल्याएपछि अहिले जोत्न भ्याइ नभ्याई भएको छ ट्रयाक्टर सञ्चालक विजन विकले बताए । विकले अहिले एक घण्टा जोतेको ८ सय रुपैयाँ ज्याला लिने गरेका छन् ।