सुर्खेत। सुर्खेत र दैलेखमा यस वर्ष धानको उत्पादनमा वृद्धि हुने देखिएको छ । अनुकूल मौसमका कारण धान उत्पादनमा वृद्धि हुने संकेत देखिएको ती जिल्लाका जिल्ला कृषि विकास कार्यालयहरूले जनाएका छन् ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार गतवर्ष २१ हजार ८ सय ९५ टन धान उत्पादन भएको दैलेखमा यस वर्ष २० प्रतिशतले वृद्धि हुने संकेत देखिएको छ । यो वर्ष २६ हजार २ सय ७४ टन धान उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।जिल्लामा ८ हजार ३ सय ७ हेक्टरमा धानखेती गरिँदै आएको छ । यो वर्ष करिब ४ हजार ३ सय ७९ टन धान उत्पादन बढ्ने देखिएको कार्यालयको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयको आर्थिक वर्ष २०७२÷०७३ को खाद्य वासलातअनुसार वार्षिक ५५ हजार ८ सय ४४ टन खाद्यान्न आवश्यकता पर्ने दैलेखमा ४६ हजार ७ सय ९९ सय टन उत्पादन हुँदै आएको छ ।
विगतका वर्षमा निराशाजनक रहेको धान उत्पादनमा यस वर्ष भने सुखद हुने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालय दैलेखका योजना अधिकृत राजु भुजलले बताए । उनका अनुसार धान काट्दा र भण्डारण गर्ने समयमा मौसम प्रतिकूल नभए अनुमान गरिएको भन्दा बढी उत्पादन हुनेछ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार धानखेतीका लागि ९ हजार ६ सय ३८ हेक्टर जमिनमा सिँचाइको व्यवस्था भए पनि मौसमी सिँचाइ ७ हजार १ सय ९ हेक्टर र वर्षभरी सिँचाइ हुने २ हजार ५ सय २९ हेक्टर रहेको छ
यसैबीच सुर्खेतमा पनि करिब ३० प्रतिशत धान उत्पादनमा वृद्धि हुने देखिएको छ । १३ हजार २ सय ५२ हेक्टरमा धानखेती गरिँदै आएको सुर्खेतमा यो वर्ष ३० प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका कृषि प्रसार अधिकृत प्रेमदेव गिरीले बताए ।
“गत वर्षको तुलनामा यस वर्ष मनसुन सुरुवातदेखि नै राम्रो भएकाले उत्पादन वृद्धि हुने अनुमान गरेका छौं,” अधिकृत गिरीले भने, “अझै केही ठाउँमा धान काट्न बाँकी रहेकाले यसमा बढ्न सक्ने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ ।”
गत वर्ष ४२ हजार ४ सय ३ टन धान उत्पादन भएकोमा यसवर्ष ३० प्रतिशतले उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान छ । जिल्लामा करिब ५५ हजार २ सय हेक्टर खेतीयोग्य जमिन रहेको उनले बताए ।