प्यूठान । यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । गत साउनमा आएको बाढीले फल्दै गरेको धानसहितको खेत नष्ट गरेपछि उत्पादनमा कमी आएको हो । धानखेतीका लागि उर्वर भूमि झिमरुक फाँटसहित जिल्लाका धेरै स्थानमा धानसहितको खेत झिमरुक नदीले बगाएरपछि उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय प्यूठानले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आवमा करीब ६२ मेट्रिक टनले उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत मधुसुदन घिमिरेले बताए । ‘गतवर्ष २३ हजार ४ सय ४२ मेट्रिक टन धान उत्पादन भएको थियो,’ उनले भने, ‘यस वर्ष २३ हजार ३ सय ८० मेट्रिक टन उत्पादन भयो ।’ झिमरुक नदी क्षेत्रमा २ सय ६ हेक्टर जमिन नदीले कटान/डुबान गरेको उनले जानकारी गराए ।
झिमरुक नदी किनारमा पर्ने उत्तरपूर्वी ठूलाबेंसीदेखि बरौलासम्मका सयौं किसानको यस पटकको बाढीले फल्दै गरेको धानसहितको खेत पूर्ण रुपमा नष्ट गरेको छ । ‘बाढीले यी क्षेत्रमा धेरै नोक्सानी गर्‍यो,’ घिमिरेले भने, ‘किसानहरुको क्षतिका लागि सम्बन्धित क्षेत्रमा सहयोगका लागि कुरा राखेका छौं ।’ २ हजार १ सय हेक्टर जमिन क्षेत्रफलमा फैलिएको झिमरुक फाँटसँगै जिल्लाभर ६ हजार ५ सय २५ हेक्टर क्षेफलमा धानखेती हुने गरेको कार्यालयले जनाएको छ ।
धानमा कुनै रोग कीरा नलागेको बताउँदै घिमिरेले नदी कटानकै कारण उत्पादनमा केही ह्रास आएको उल्लेख गरे । उत्पादनका हिसाबले झिमरुक नदीक्षेत्रमा ४ हजार र माडी नदी क्षेत्रमा २ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने उनले जानकारी दिए । माडी क्षेत्रमा बाढीले कम क्षति पुर्‍याएको उनको भनाइ छ ।
‘बाढीले यस वर्ष समग्र कृषि क्षेत्रमा धेरै क्षति पुर्‍यायो,’ घिमिरेले भने, ‘विशेष गरी फल्दै गरेको धानमा धेरै क्षति पुग्यो । कतिपय किसानले एक माना चामल पनि उपभोग गर्न नपाउने गरी नष्ट भयो ।’ जिल्लाभर ३ करोड ७२ लाख रुपैयाँबराबरको कृषिक्षेत्रमा क्षति भएको जानकारी उनले दिए । उनले बाढीलाई केन्द्रित गर्दै छुट्टै कार्यक्रम सञ्चालनका लागि विभागमा माग गरिएको बताए ।
खेतमा फलेको धानसहितको पूरै खेत झिमरुक नदीले कटान गरेको प्यूठान नगरपालिका–१६ सारिवाङकी हिमा थापाले बताइन् । ‘खेत भएको ठाउँमा आजभोलि खोलो बगिरहेको छ,’ उनले भनिन्, ‘एक मुठी धानसमेत भित्र्याउन पाइएन ।’ ६ रोपनी क्षेत्रफलमा फैलिएको धानसहितको खेत खोलाले नष्ट गरेको उनले जानकारी गराइन् । धान बेचेर घरखर्च चलाउने माध्यम गुमेको गुनासो उनले गरिन् ।