सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मुडेमा उत्पादित आलुलाई ‘ब्रान्ड’ दिइएको छ । जिल्ला कृषि विकास कार्यालयले स्थानीय उत्पादनलाई मुलुकमै पहिलोचोटी ‘ब्रान्ड’ दिएपछि जिल्लाको पूर्वीगाउँ जेठल (मुडे) को आलु राजधानी भित्र्याइएको हो । ‘ट्यागिङ’ र ‘प्याकिङ’ सहित ब्रान्ड नाम दिएपछि यहाँ उत्पादित अर्गानिक आलु काठमाडौं पु¥याइएको हो ।
उपत्यकालगायत छिमेकी जिल्लामा समेत लोकप्रिय आलुलाई ‘मुडेको गुणस्तरीय आलु’ ब्रान्ड दिइएको छ । अन्य ठाउँमा उत्पादित आलुलाई व्यापारीले मुडेको भनेर झुक्याउँदै बिक्री गर्न थालेपछि जिल्ला कृषि विकास कार्यालयले मुडेमा उत्पादित आलुलाई ब्रान्ड दिएको हो ।
आलुले ब्रान्ड पाएपछि यो वर्ष मात्रै झन्डै एक लाख किलो ब्रान्डेड आलु काठमाडौं भित्रिसकेको छ । मुडेमा उत्पादित आलुलाई साना किसान तथा कृषि सहकारी संस्थाले कालीमाटी फलफूल तथा तरकारी संकलन केन्द्रलगायतमा पु¥याउने गरेको छ ।
ब्रान्ड नामसहित ट्यागिङ र प्याकिङ भएर चार महिनादेखि आलु राजधानी निर्यात भइरहेको संस्थाका अध्यक्ष मकरबहादुर तामाङले जानकारी दिए ।
“जुटको बोरा र प्लास्टिकको झोलामा ३०, १० र ५ केजी प्याकिङ गरी राजधानी पु¥याइएको छ,” तामाङले भने, “काठमाडौंका व्यापारीलाई प्रतिकेजी ३६ रुपैयाँमा हामीले बिक्री गरेका छौं ।” उनका अनुसार जेठलमा उत्पादित आलु छिमेकी जिल्ला दोलखा, रामेछाप, सिन्धुलीमा पनि खपत हुन्छ ।
जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च छ । काठमाडौंको तुलनामा जिल्लाकै बाह्रबिसे, खाडीचौर, चौतारा, लामोसाँघुमा राम्रो मूल्य आउने तामाङ बताउँछन् । “जिल्लाका व्यापारीले यहाँको आलुलाई प्रतिकिलो ४० रुपैयाँसम्म दिन्छन्” उनले भने ।
२२ सय मिटर उचाइमा उत्पादित मुडेको आलुको राजधानीमा उच्च माग छ । मुडेको आलुको नाममा उपभोक्ता ठगिने गरेकाले ब्रान्ड दिइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँको भन्दै राजधानीमा गुणस्तरहीन आलु बिक्री भइरहेको पाइएपछि उपभोक्ताको हितका लागि ब्रान्ड दिइएको हो ।
“यहाँबाट माटो लगेर राजधानीमा अरु ठाउँको आलुमा दलेर मुडेको भन्दै बिक्री गर्ने गरेको पाइयो,” जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नवराज थापाले आलुलाई ब्रान्ड नाम दिनुको कारण खुलाउँदै भने, “उपभोक्ता माझ यहाँको आलु स्थापित भएकाले पसलेले नठगुन् भनेर यस्तो प्रक्रिया अपनाइएको हो ।” उनले आलुलाई ब्रान्ड दिएपछि कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताए ।
आलुका लागि उर्वरभूमि मानिएको जेठल गाविसका ९५ प्रतिशत घरधुरी आलु व्यवसायमा संलग्न छन् । यहाँको आलुलाई बजार व्यवस्थापन स्थानीय साना किसान कृषि सहकारी संस्थाले गर्ने गरेको छ । वार्षिक १० लाख किलोभन्दा बढी आलु उत्पादन हुने गरेको संस्थाका अध्यक्ष तामाङले जानकारी दिए ।
“यहाँको आलु भनेर अरु बिक्री गरेर व्यापारीले फाइदा लिइरहेका छन्,” तामाङले भने, “ब्रान्ड भएपछि हामीलाई सजिलो भएको छ ।” उनले ब्रान्ड भएपछि यहाँको आलुको गुणस्तरमाथि कसैले बदनामी गर्न नसक्ने बताए ।
उत्पादित आलु जेठलस्थित सिलढुंगामा संकलन गरेर प्याकिङ र ट्यागिङ गरी काठमाडौं पु¥याइने गरिएको छ । यहाँ उत्पादित रोजिटा जातको आलु दुर्लभ मानिन्छ । लामोसाँघु–जिरी सडक बनाउने क्रममा यो जातको आलुको बीउ स्विस सरकारले बाँडेपछि जेठलमा यसको खेती सुरु भएको हो ।









