इलाम । दूध बिक्री गरेर गुजारा चलाउँदै आएका यहाँका कृषक आफैं दुग्ध प्रशोधन कारखाना खोलेर उद्योगी बन्न थालेका छन् ।व्यावसायिक गाईपालनमा कृषकको आकर्षण थपिएसँगै आम्दानी गर्ने उद्देश्यले दुग्धजन्य उद्योग खुल्ने क्रम बढेको छ । कृषकले दूधबाट घिउ, छुर्पी, चीज, ललिपपलगायत सामग्री आफैं उत्पादन गरेर बिक्री गर्ने क्रम बढेको हो ।
दूध बिक्रीबाट लगानीअनुसार आम्दानी हुन छाडेपछि कृषक आफैंले उद्योग सञ्चालन गरेका हुन् ।
जिल्लामा ११२ वटा डेरी उद्योग छन् भने दर्ता हुन बाँकी डेरी उद्योग पनि उल्लेख्य छन् । हरेकले दैनिक ५० देखि ५०० लिटरसम्म दूध प्रशोधन गर्छन् । संस्थानअन्तर्गतका तीनबाहेक २४ वटा चीज कारखाना सञ्चालनमा आएका छन् । हरेक कारखानाले दैनिक एक हजारदेखि दुई हजार लिटरसम्म दूध जम्मा गर्छन् । दैनिक दुई सयदेखि सात सय लिटरसम्म दूध सङ्कलन गरेर प्रशोधन गर्ने नौ वटा ललिपप उद्योग सञ्चालनमा छन् ।
आफै प्रशोधन उद्योग खोलेर सञ्चालन गर्दा स्थानीय बासिन्दालाई रोजगारी दिन सकिने र आम्दानी पनि राम्रो हुने व्यवसायीको भनाइ छ । धेरैले सानातिना डेरी उद्योग सञ्चालनका लागि लगानी बढाएका छन् । ‘अमेरिकामा छुर्पी निर्यात हुने र घ्युको मूल्य पनि राम्रो पाइने भएकाले मेहनतअनुसार कमाइ भएको छ,’ फाकफोक–९ का किशोर शर्माले भने ।
जिल्ला पशु सेवा कार्यालयले दैनिक तीन लाख ३६ हजार लिटर दूध उत्पादन हुँदै आएको जनाएको छ । त्यसमध्यै घरायसी प्रयोजनमा खर्च हुने दैनिक डेढ लाख लिटर दूधबाहेक सबै बिक्री हुन्छ । बिक्री हुने दुई लाख लिटर दूधमध्ये ठूलो हिस्सा स्थानीयस्तरमा खुलेका उद्योगमा खपत हुने गरेको छ ।