नवलपरासी।आधुनिक यन्त्रहरुबाट गहुँ र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्राविधिक सहयोग पाएपछि किसानहरु आकर्षित भएका हुन् ।
उक्त परियोजना लुम्बिनि अञ्चलको नवलपरासी, रुपन्देही र कपिलबस्तुमा सञ्चालित रहेको परियोजनाका अनुसन्धान सहयोगि शालिन आचार्यले बताउनु भयो ।
सिड ड्रिलर, पावर टिलरलगायतका आधुनिक यन्त्रहरुबाट गहुँ र मुुसुरो छर्दा उत्पादन करिब बराबर भएपनि मेसिनले छर्दा लागत कम लाग्ने भएकाले बढि फाईदा हुने किसानहरुले बताएका छन् । बाझों खेतमा सिड ड्रिलवाट लगाईएको गहुँमा सिँचाई पनि कम हुने र जोत्न पनि नपर्ने भएकाले लागतमा कमि हुने किसानहरुको भनाई छ ।
बैज्ञानिक तरिकाले मेसिनबाट गहुँ र मसुरो छर्ने सेवा प्रदायक किसानहरुको आज जिल्ला कृषि विकास कार्यालय नवलपरासीमा भएको भेलामा किसानहरुले आधुनिक मेसिनको प्रयोगकोे सहजता र उपलब्धी बारेमा खुसी ब्यक्त गरेका थिए भने परियोजनाका अनुसन्धानकर्ता शालिन आचार्यले सहजीकरण गर्नु भएको थियो ।भेलामा कृषि यन्त्रीकरण र क्षेत्रफल बिस्तार, उत्पादन बढाउनका लागि प्राविधिक विकास र विस्तार, गहुँ तथा मुसुरो छर्ने बारे योजना तर्जुमालगायतका विषयमा बृहत छलफल गरेका छन् ।
गत वर्षहरुमा मेसिनबाट गहुँ र मुसुरो छर्ने किसानहरु कम भएपनि अब यस प्रति किसानहरु आकर्षित भएपछि सेवा प्रदायक किसानहरु यो वर्ष धेरै किसानहरुलाई सेवा दिने र यसको फाईदा बारे जानकारी समेत गराउने भएका छन् । यो वर्ष नवलपरासीमा करिब ५० विघा भन्दा बढि जग्गामा मेसिनबाट गहुँ र मुसुरो छरि खेती गरिने भएको सिसा परियोजनाका सहजकर्ता आचार्यले बताउनु भयो । गहुँ कार्तिकको अन्तिम हप्ता देखि मंसिरको दोस्रो हप्तासम्म छर्दा उत्पादनमा राम्रो हुने परियोजनाको भनाई छ ।