रौतहट । रौतहटमा तीन दाजुभाइले संयुक्त रूपमा गाईभैंसीपालन व्यवसाय गरेका छन् । चन्द्रपुर–१४ का गङ्गा बस्नेत, हिक्मत बस्नेत र कुमार बस्नेतले घरमा नै गाईभैंसीपालन व्यवसाय शुरू गरेका हुन् ।
करीब १० वर्षदेखि उनीहरूले बस्नेत गाईभैंसीपालन व्यवसाय दर्ता गरी सञ्चालन गरेका छन् । करीब डेढ करोडको लगानीमा गाईभैंसीपालन व्यवसाय शुरू गरेको गङ्गा बस्नेतले बताए । गोठमा अहिले ६७ ओटा गाईभैंसी रहेको उनले बताए । दैनिक १ सय लिटर दूध हुने र नजिकैको डेरीमा विक्री गर्ने गरेको उनको भनाइ छ । यस व्यवसायबाट मासिक ६५ हजार रूपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । नजिकै जङ्गल भएकाले गाईभैंसीलाई घाँसको समस्या नहुने गरेको बस्नेतले बताए । गाईभैंसीको दूध मात्र नभई गोबर मल पनि विक्री हुने गर्छ ।
अहिले गाईभैंसी स्याहारका लागि छ जनालाई रोजगारीसमेत दिएको उनले बताए । एक जनालाई मासिक ५ हजारदेखि ८ हजारसम्म दिने गरेको बस्नेतको भनाइ छ । १ सयओटाभन्दा बढी गाईभैंसीलाई राख्न मिल्ने गरी गोठ बनाउँदै गरेको अर्का कृषक कुमार बस्नेतले बताए । उक्त गोठमा चीनबाट दुधालु गाई ल्याएर राख्ने योजना रहेको उनले बताए । गाईभैंसीपालन व्यवसाय शुरू गर्न गाह्रो हुने र गरेपछि धेरै अनुभव र आम्दानी हुने उनीहरूको बुझाइ छ ।
पशु तथा कृषिक्षेत्रमा नै लगानी बिस्तार गर्दै लैजाने उनीहरूको योजना छ । तीन दाजुभाइ मिलेर १२ विगाह क्षेत्रफलमा माछापालन व्यवसायसमेत गरेका छन् । माछापालनबाट वार्षिक २२ लाखदेखि ४० लाख रुपैयाँसम्म कमाउने गरेको उनीहरू बताउँछन् । आगामी दिनमा व्यवस्थित गरेर नमुना र उत्कृष्ट पशुपालन व्यवसाय बनाउने उनीहरूको लक्ष्य छ । उनीहरूले गरेको आधुनिक तरीकाको पशुपालन व्यवसाय नमुनायोग्य छ ।