सिन्धुली । पाक्नु अगावै हरियो जुनार बजारमा आउन थालेको छ ।सामान्यतया पुस माघमा जुनार बजारमा आउँछ । तर चाडपर्व मान्न खर्च अभाव हुँदा किसानले धमाधम हरियोे जुनार बिक्री गर्न थालेका छन् । “जुनार बेच्यो भने चाडपर्वका लागि खर्च जुट्छ, नभए ऋण गर्नुपर्छ,” जलकन्या गाविस– १ निगालेका गोरखबहादुर श्रेष्ठले भन्नुभयो ।
अहिले हरियो जुनार प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री भइरहेको छ । श्रेष्ठले दैनिक २०० किलो जुनार र १०० किलो सुन्तला बिक्री गर्दैआउनुभएको छ । उहाँले सुन्तला प्रतिकिलो रु ४० मा बिक्री गरिरहनुभएको छ । “वार्षिक रु दुई लाख बचत हुन्छ,” श्रेष्ठले भन्नुभयो ।श्रेष्ठमात्र नभएर जिल्लाका धेरै किसानले चाडपर्वकोे खर्च जुटाउन हरियो जुनार बिक्री वितरण गर्ने गरेका छन् । तराईका व्यापारि अहिले जुनारका लागि गाउँगाउँमा पुग्ने गरेका छन् । चाडपर्वको खर्च जुटाउने नाममा हरियो जुनार बजारमा नल्याउन जिल्ला जुनार विकास सङ्घका अध्यक्ष तिलकबहादुर थापाले किसानलाई आग्रह गरिएको बताउनुभयो ।